राष्ट्रपति यादव भारत भ्रमणमा

पछिल्लोपल्ट अपडेट गरिएको: 24.12.12, 23:21 NST सम्मका समाचार
राष्ट्रपति यादव

राष्ट्रपतिको दिल्ली प्रवासलाई धेरैले चासोका साथ हेरेका छन्

राष्ट्रपति रामवरण यादव दक्षिणी छिमेकी भारतको पांचदिने भ्रमणको सिलसिलामा सोमबार धार्मिक नगरी बनारस पुगेका छन्।

मंगलबार उनी बनारस हिन्दु विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा अतिथिको रुपमा सरिक हुनेछन्।

उनलाई विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

बनारसबाट उनी दिल्ली पुगेर वरिष्ठ भारतीय अधिकारी तथा नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपालमा राजनीतिक संकट गहिरिंदै जांदा हुनलागेको उनको दिल्ली प्रवासलाई धेरैले चासोका साथ हेरेका छन्।

भारतको नेपाल नीतिबारे चासो राख्ने भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताले भने, “१९५०, १९९० र २००५ मा पनि भारतले मिलाईदिएको कुरा हो। भारतले भनेको कुरा गर्ने होइन, तर आइडिया त लिने।”

"नेपालबाट ‘लेजिटिमेट रिक्वेस्ट’ आयो भने फेरि आइडिया, सोचविचार हुनसक्छ "

अशोक मेहता, भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल

जनरल मेहताले भने जस्तो कुराकानी वा आइडिया नेपाली आकाशमा कैयौं महिना लागेको संवैधानिक एवम् राजनीतिक तुवांलो हटाउन कत्तिको फलदायी होला? धेरै नेपालीले चासो राखेको प्रश्न हो यो।

विश्लेषक मेहताले भने, “नेपालबाट ‘लेजिटिमेट रिक्वेस्ट’ आयो भने फेरि आइडिया, सोचविचार हुनसक्छ।”

मेहताले भने जस्तो ‘लेजिटिमेट रिक्वेस्ट’ अर्थात् वैधानिक अनुरोध गर्दा कामचलाउ सरकार वा एकीकृत नेकपा माओवादी दुबैलाई बेवास्ता गर्न नसकिने उनको भनाइ थियो।

‘जादूमय सम्भावना’

हाम्रा दिल्लीस्थित संवाददाता भन्छन्, भारतले निकाल्न सक्ने जादूमय सम्भावनाभित्र मेहता पस्न चाहेनन्। तर नागरिक अगुवाको नेतृत्वको सरकारको विकल्प रहेको पनि उनले बताए।

मेहताले भारतको संस्थापन अहिले नेपालको ध्रुवीकृत राजनीतिमा हात हाल्ने पक्षमा नरहेको बरु सतर्कतापूर्वक घट्नाक्रमहरु नियाली रहेको बताए।

विगतमा नेपालभित्रैबाट भारतको अग्रसरता खोज्ने तर त्यहीबाट भारत भावना उग्र रुपमा प्रकट हुने गरेकाले पनि भारतले अहिलेलाई त्यो नीति अपनाएको जनरल मेहताको भनाइ थियो।

हाम्रा संवादाता भन्छन्, राष्ट्रपति रामवरण यादवका निम्ति भने भ्रमण पेचिलो बन्दै गएको राजनीतिलाई निकास दिन आफूले रोज्ने विकल्पबारे छिमेकीको मन छाम्ने र भारतको निम्ति राजनीतिक अस्तव्यस्तताले गाजेको उत्तरी छिमेक सम्हाल्ने त्यहाँका राष्ट्राध्यक्षको आत्मविश्वास नाप्ने अवसर भने पक्कै हुनेछ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।