प्याकेजमा सहमति भए तेश्रो नेतृत्व स्वीकार: गठबन्धन

पछिल्लोपल्ट अपडेट गरिएको: 27.12.12, 20:36 NST सम्मका समाचार

सत्तारुढ गठबन्धनको बैठकले शर्तसहित तेश्रो नेतृत्व स्वीकार्ने निर्णय गरेको छ

सरकारमा रहेका र सरकार पक्षीय दलहरुको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले सरकार र गठबन्धन बाहिरको नेतृत्व पनि स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका अध्यक्ष समेत रहेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा चलेको घन्टौं लामो बैठकमा गठबन्धनले सहमति खोज्न पुष २५ सम्मको समयसीमा तोकेको छ।

पुष २५ सम्म सहमति जुट्न नसके संविधानसभा पुनर्स्थापना तिर जोडतोडले लाग्ने गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बताए।

उनले भने, "वर्तमान सरकारलाई राष्ट्रिय सरकार बनाउने, नभए गठबन्धनबाट बनाउने, त्यो पनि नभए बैशाखमा निर्वाचन सुनिश्चित गर्ने गरी प्याकेजमा सहमति गरी तेश्रो पक्षको नेतृत्व स्वीकार्य छ।"

विपक्षीहरुले त्यसलाई सहमतिको ढोका खोल्न सकारात्मक पाइला भनेका छन्।

अवरुद्ध

यसअघि मुख्य तीन दलहरुबीच सहमति बनेपनि सरकारको नेतृत्व छोड्न बाबुराम भट्टराई तयार नभएपछि निकास अवरुद्ध भएको बताइएको छ।

"वर्तमान सरकारलाई राष्ट्रिय सरकार बनाउने, नभए गठबन्धनबाट बनाउने, त्यो पनि नभए बैशाखमा निर्वाचन सुनिश्चित गर्ने गरी प्याकेजमा सहमति गरी तेश्रो पक्षको नेतृत्व स्वीकार्य छ"

प्रेमबहादुर सिंह, प्रवक्ता, संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन

सहमतिको सरकार बनाउने छैटौं म्याद दिएर राष्ट्रपति भारत गए यता पनि मुख्य दलहरुबीच अनौपचारिक वार्ता चलिरहेको देखिन्छ।

सहमति खोज्ने त्यस्ता वार्ताहरुमा संलग्न रहँदै आएका कांग्रेस नेता मिनेन्द्र रिजालले गठबन्धनको पछिल्लो निर्णय सकारात्मक रहेको बताए।

"ढोका बन्द भएका बेला गरिएको उक्त निर्णयले ढोका खोलेको छ, त्यो निर्णय सहमति उन्मुख छ"

मिनेन्द्र रिजाल, नेता, नेपाली कांग्रेस

उनले भने, "ढोका बन्द भएका बेला गरिएको उक्त निर्णयले ढोका खोलेको छ, त्यो निर्णय सहमति उन्मुख छ।"

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, गठबन्धनको पछिल्लो निर्णयलाई सकारात्मक भनिए पनि पटक पटक सहमति गरेका तर कार्यान्वयन नगरेका नेताहरुका भनाइ र गराइप्रति आम सर्वसाधारणमा शंका व्याप्त छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।