स्वतन्त्र नेतृत्वबारे 'भित्रभित्रै छलफल'

पछिल्लोपल्ट अपडेट गरिएको: 01.01.13, 20:38 NST सम्मका समाचार
प्रमुख दलका शीर्ष नेताहरु

नेताहरुले अन्तिम विकल्पका रुपमा स्वतन्त्र व्यक्तीको नेतृत्वमा चुनावी सरकार बनाउन सकिने बताएका छन्

राष्ट्रपतिले पटक पटक दिएका समय सीमाभित्र प्रधानमन्त्रीको साझा उम्मेदवार सिफारिस गर्न नसकेका प्रमुख दलका नेताहरुले भित्रभित्रै अब स्वतन्त्र व्यक्तीको नेतृत्वमा भए पनि चुनावी सरकार गठन गर्नुपर्ने छलफल चलाउन थालेका छन्।

सत्ता गठबन्धनले विपक्षी दलको र विपक्षी दलले सत्ता गठबन्धनको नेतृत्व स्वीकार नगर्ने अवस्था लम्बिएपछि नेताहरुले सरकारको नेतृत्व गर्ने व्यक्ती भन्दा पनि चुनाव गराउने विषय महत्वपूर्ण हुन पुगेको बताउन थालेका छन्।

"वैशाखमा चुनाव गराउने विषय महत्वपूर्ण हो तर को व्यक्ती प्रधानमन्त्री हुने भन्ने विषय महत्वपूर्ण होइन"

झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले

राष्ट्रपतिले पछिल्लो पटक दिएको सातौं म्यादभित्र पनि सहमतीय प्रधानमन्त्रीको उम्मेदवार सिफारिस गर्न सार्थक वार्ताहरुमा जुटेको नदेखिएका प्रमुख दलका नेताहरुबीच अन्तिम विकल्पका रुपमा स्वतन्त्र व्यक्तीको नेतृत्वमा चुनावी सरकार बनाउने बारे भित्रभित्रै छलफल हुन थालेको पाइएको छ।

दुई दिनअघि मात्र नागरिक समाजका अगुवाहरू मध्येका मानिने दमननाथ ढुंगाना र पदमरत्न तुलाधारसँग छलफल गरेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अब को व्यक्ती प्रधानमन्त्री हुने भन्दा पनि वैशाखमा चुनाव गराउने विषय महत्वपूर्ण भएको बीबीसीलाई बताए।

उनले भने, “वैशाखमा चुनाव गराउने विषय महत्वपूर्ण हो तर को व्यक्ती प्रधानमन्त्री हुने भन्ने विषय महत्वपूर्ण होईन।”

खुलै

"सत्ता गठबन्धन बाहेक अरुको नेतृत्वमा सरकार गठन वारे विकल्प खुलै राख्नुपर्छ भन्ने हो, अहिलेलाई स्वतन्त्र व्यक्तीको विकल्प पनि खुलै राख्नुपर्छ"

अर्जुननरसिंह केसि, नेता, नेपाली काँग्रेस

नेपाली काँग्रेसका सभापति सुशील कोईरालालाई प्रधानमन्त्रीमा समर्थन गरेको एमालेका अध्यक्ष खनाल मात्र होइन काँग्रेसकै कतिपय नेताहरु पनि स्वतन्त्र व्यक्तीको विकल्प खुलै राख्नुपर्ने पक्षमा देखिन्छन्।

त्यस्तो विचार राख्नेमध्येका एक काँग्रेस नेता अर्जुननरिसंह केसीले भने, “सत्तागठबन्धन बाहेक अरुको नेतृत्वमा सरकार गठनबारे विकल्प खुलै राख्नुपर्छ भन्ने हो, अहिलेलाई स्वतन्त्र व्यक्तीको विकल्प पनि खुलै राख्नुपर्छ।”

केहि दिनअघि प्रधानमन्त्री बाबुराम भट्टराईले पनि नागरिक समाजका अर्का एकजना अगुवा देवेन्द्रराज पाण्डेसँग भेटघाट गरेका थिए।

"अन्तिम विकल्पका रुपमा स्वतन्त्र व्यक्तीको नेतृत्वमा सरकार गठन गरेरै भए पनि राष्ट्रलाई निकास दिनुपर्छ भन्ने मेरो मान्यता हो"

अग्नी सापकोटा, प्रवक्ता, एकीकृत माओवादी

उनको दल एकीकृत माओवादीका कतिपय नेताहरूले समेत स्वतन्त्र व्यक्तीको नेतृत्वलाई स्वीकार गरेरै भएपनि राष्ट्रलाई निकास दिनुपर्ने बताएका छन्।

एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले भने, “अन्तिम विकल्पका रुपमा स्वतन्त्र व्यक्तीको नेतृत्वमा सरकार गठन गरेरै भए पनि राष्ट्रलाई निकास दिनुपर्छ भन्ने मेरो मान्यता हो।”

भित्रभित्रै स्वतन्त्र व्यक्तीको नेतृत्वको कुरा गरेको बताइएपनि, एकीकृत माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले वा मधेसी मोर्चा, कुनै पनि दलले यस विषयमा अहिलेसम्म औपचारिक निर्णय चाहिँ गरिसकेका छैनन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।