प्रधानमन्त्रीको प्रस्ताव विपक्षीद्वारा अस्वीकार

पछिल्लोपल्ट अपडेट गरिएको: 02.01.13, 20:03 NST सम्मका समाचार
प्रधानमन्त्री भट्टराई

दलहरुबीच सहमति जुट्न नसकेकाले स्वतन्त्र व्यक्तीमा जानुपर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका थिए

दलहरुबाट सहमतीय प्रधानमन्त्रीको उम्मेदवार चयन हुन नसकेकोकाले स्वतन्त्र व्यक्तीको नेतृत्वमा चुनावी सरकार गठनमा लाग्नुपर्ने प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्तावलाई विपक्षी दलहरुले अस्वीकार गरिदिएका छन्।

प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालसँग मंगलवार विहान गरेको त्यस्तो प्रस्तावलाई साँझ बसेको नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुको बैठकले सत्ता लम्बाउने बहानाबाजीको संज्ञा दिँदै अस्वीकार गर्ने निर्णय लिएको हो।

"यो स्वतन्त्र व्यक्तीको कुरा फेरि अलमलाउने कुरा हो र माओवादी चुनाव चाहंदैन भन्ने पनि हो, प्रधानमन्त्री आफैले हुँदैन भनेर भनिसकेको विषयलाई अहिले आएर हामीले मान्दैनौं"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली काँग्रेस

तर थाईल्याण्डको दुई दिने बसाइबाट मंगलवारै स्वदेश फर्केका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले चाहीं अब जहाँ सहमति हुन्छ त्यसैमा लाग्नुपर्ने बताएका छन्।

स्वतन्त्र व्यक्तीको नेतृत्वमा सरकार गठन गर्ने विषयमा दलहरुपछि भित्रभित्रै छलफल भईरहेका छन् भन्ने चर्चाका माझ प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले नेता माधवकुमार नेपालसँग मंगलवार औपचारिक रुपमै त्यस्तो प्रस्ताव राखेका थिए।

तर साँझ नेपाली काँग्रेसको कार्यालयमा बसेको दुई विपक्षी दलको बैठकले प्रधानमन्त्रीको उक्त प्रस्तावलाई सत्ता लम्बाउने र वैशाखमा चुनाव नगराउने षड्यन्त्रको संज्ञा दिएको छ।

'अलमलाउने कुरा'

"स्वतन्त्र व्यक्तीको नेतृत्वमा सरकार बनाउने विषयमा प्रधानमन्त्रीले राखेको प्रस्ताववारे माधव नेपालले वैठकमा जानकारी गराउनुभयो तर हामीले त्यस्मा विश्वास गर्ने आधारै छैन भन्यौं, काँग्रेस र एमाले अहिले त्यो प्रस्ताव मान्ने पक्षमा छैनन्"

वामदेव गौतम, उपाध्यक्ष, नेकपा एमाले

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, “यो स्वतन्त्र व्यक्तीको कुरा फेरि अलमलाउने कुरा हो र माओवादी चुनाव चाहंदैन भन्ने पनि हो, प्रधानमन्त्री आफैले हुँदैन भनेर भनिसकेको विषयलाई अहिले आएर हामीले मान्दैनौं।”

अर्को विपक्षी दल नेकपा एमालेले चाहिँ प्रधानमन्त्रीको उक्त प्रस्तावमाथि विश्वास गर्ने आधार नै नभएको बताएको छ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले भने, “स्वतन्त्र व्यक्तीको नेतृत्वमा सरकार बनाउने विषयमा प्रधानमन्त्रीले राखेको प्रस्तावबारे माधव नेपालले बैठकमा जानकारी गराउनुभयो तर हामीले त्यसमा विश्वास गर्ने आधारै छैन भन्यौं, काँग्रेस र एमाले अहिले त्यो प्रस्ताव मान्ने पक्षमा छैनन।”

"हाम्रो पहिलो कोसिस पार्टीहरुकै बीचमा सहमति होस् र निर्वाचन होस् भन्ने हो तर यदि भएन भने कहाँ सहमति हुन्छ त्यहींबाट निकास खोज्ने कुरामा आपत्ती रहँदैन"

प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी

तर श्रीमतीको उपचारका क्रममा तीन दिनअघि थाईल्याण्ड गएका भनिएका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले चाहीं स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै जसको नेतृत्वमा सहमति जुट्छ त्यतैतर्फ लाग्नुपर्ने बताए।

उनले संवाददाताहरुसँग भने, “हाम्रो पहिलो कोसिस पार्टीहरुकै बीचमा सहमति होस् र निर्वाचन होस् भन्ने हो तर यदि भएन भने कहाँ सहमति हुन्छ त्यहींबाट निकास खोज्ने कुरामा आपत्ती रहँदैन।”

विपक्षीले सत्तागठन्धनको र सत्तागठबन्धनले विपक्षीको नेतृत्व स्वीकार नगर्ने अडानहरु जारी रहँदा विकल्पका रुपमा आएको बताइएको स्वतन्त्र व्यक्तीको नेतृत्वको प्रस्तावमा पनि दलहरुबीच सहमती जुट्ने संकेतहरु देखिएका छैनन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।