प्रचण्डको प्रस्तावले विपक्षी आक्रोशित

पछिल्लोपल्ट अपडेट गरिएको: 03.01.13, 20:29 NST सम्मका समाचार
एकीकृत माओवादी अध्यक्ष प्रचण्ड

सुशील कोईरालाको नेतृत्व असम्भव भन्दै स्वतन्त्र व्यक्तीको नेतृत्वमा जानुपर्ने प्रस्ताव प्रचण्डले गरेका थिए

स्वतन्त्र व्यक्तीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्ताव एकीकृत माओवादी अध्यक्ष प्रचण्डले विहिवार दोहोराएपछी विपक्षी दलहरु त्यसबाट थप आक्रोशित बनेका छन्।

यस्तो प्रस्ताव गरेर माओवादीले राजनीतिक वेईमानी गरेको आरोप विपक्षी दलले लगाएका छन् भने सत्ताधारी दलका नेताहरुले चाहिँ विपक्षी दलहरु समस्या बल्झाउने खेलमा लागेको टिप्पणी गरेका छन्।

"स्वतन्त्र व्यक्ती वा अरु प्रस्ताव ल्याउनु राजनीतिक बेईमानी हो, यो षड्यन्त्र हो"

दिलेन्द्रप्रसाद बडु, प्रवक्ता, नेपाली काँग्रेस

यो आरोप प्रत्यारोपका कारण राष्ट्रपतिले पछिल्लो पटक थपेको समयसिमा पनि व्यर्थै खेर जाने निश्चित भएको छ।

प्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग स्वतन्त्र व्यक्तीको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको भोलीपल्ट, विहिवार वार्ताहरुको केन्द्रमा रहेको ठानिने एकीकृत माओवादी अध्यक्ष प्रचण्डले पनि नेपाली काँग्रेस र एमालेका नेताहरु समक्ष सोही प्रस्ताव राखेका थिए।

संज्ञा

त्यस लगत्तै बसेको नेपाली काँग्रेसको अनौपचारिक बैठकले प्रचण्डको उक्त प्रस्तावलाई राजनीतिक बेईमानीको संज्ञा दिएको छ।

काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, “स्वतन्त्र व्यक्ती वा अरु प्रस्ताव ल्याउनु राजनीतिक बेईमानी हो, यो षड्यन्त्र हो।”

तर एकीकृत माओवादीले चाहिं चुनावमा जाने तेस्रो विकल्पका रुपमा यस्तो प्रस्ताव गरिएको बताएको छ।

"काँग्रेसले अहिलेको सरकारलाई नमान्ने र हामीले काँग्रेसलाई स्वीकार नगर्ने अवस्था आएपछि तेस्रो विकल्पका रुपमा चुनावमा जाने उद्देश्यले नयाँ प्रस्ताव गरिएको हो"

देवेन्द्र पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

एकीकृत माओवादीका नेता एवं प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, “काँग्रेसले अहिलेको सरकारलाई नमान्ने र हामीले काँग्रेसलाई स्वीकार नगर्ने अवस्था आएपछि तेस्रो विकल्पका रुपमा चुनावमा जाने उद्देश्यले नयाँ प्रस्ताव गरिएको हो।”

तर विपक्षी दल काँग्रेसले भने एकीकृत माओवादीले नयाँ नयाँ प्रस्ताव ल्याउनुको भित्रि उद्देश्य चुनाव रोक्ने तर्फ लक्षित रहेको आरोप लगाएको छ।

एकीकृत माओवादीले भने विपक्षी दलहरुले प्रधानमन्त्री वाहेक अन्य एजेण्डामा कुरै नगरेर समस्या थोपर्ने काम गरेको आरोप लगाएको छ।

तेस्रो विकल्पका रुपमा आएको भनिएको स्वतन्त्र व्यक्तीको नेतृत्वको नयाँ विवादमा सत्तापक्ष र विपक्षी दलहरु फस्दै जाँदा उक्त प्रस्ताव वारे राष्ट्रपतिले चाहिँ कस्तो धारणा बनाउने हुन् भन्ने जिज्ञासाका कारण धेरैका आँखा शितल निवासतिर पनि सोझिएको पाईन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।