दैलेखबाट 'विस्थापित' २२ पत्रकार सुर्खेतमा

पछिल्लोपल्ट अपडेट गरिएको: 25.01.13, 21:57 NST सम्मका समाचार
दैलेखका पत्रकारहरू विरोध -याली निकाल्दै

पत्रकारहरूले जिल्ला छाडेपछि दैलेखबाट प्रकाशन हुने कुनै पनी पत्रीका छापिएका छैनन्

असुरक्षाका कारण दैलेखबाट विस्थापित भएका बताउने २२ जना स्थानीय पत्रकारहरु सुर्खेतमा बसेका छन्।

एकीकृत माओवादीका नेताकार्यकर्ताबाट ज्यान लिनेसम्मका धम्की आएकाले जिल्ला छोड्न बाध्य भएको उनीहरुले बताएका छन्।

एमाओवादीको जिल्ला नेतृत्वले भने पत्रकारहरुलाई कुनै धम्की नदीइएको दाबी गरेको छ।

"पत्रकारिता राज्यको महत्वपूर्ण निकाय हो, हामीबाट उहाँहरुलाई असुरक्षा पनि हुँदैन र धम्की पनि हुँदैन"

एमाओवादीको दैलेख जिल्ला इन्चार्ज कर्ण बस्नेत

मध्यरातमा सुर्खेतको सदरमुकाम बिरेन्द्रनगर पुगेका पत्रकारहरु दिनभर सुर्खेतमै बसे।

पत्रकार महासंघले कुनै निर्देशन नआएसम्म सुर्खेतमै बस्नु भनेकाले त्यहाँ बसेको उनीहरुको भनाइ छ।

विस्थापित पत्रकारहरुले सुरक्षाको माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा एक घण्टा धर्ना समेत दिएका थिए।

जिल्ला छोडेर हिंडेका मध्येका एकजना पत्रकार प्रकाश अधिकारीले भने, “हामीलाई माओवादीका वाईसिएलहरुले निगरानी गरिरहेका थिए, हामीहरुमाथि भौतिक आक्रमण हुन सक्ने खतरा महसुस गर्यौं र जिल्ला छोड्यौं।”

बन्द

"हामीलाई माओवादीका वाईसिएलहरुले निगरानी गरिरहेका थिए, हामीहरुमाथि भौतिक आक्रमण हुन सक्ने खतरा महसुस गर्यौं र जिल्ला छोड्यौं"

पत्रकार प्रकाश अधिकारी

दुईवटा स्थानीय रेडियो पनि दिनभर बन्दै रहे।

पत्रकार महासंघको केन्द्रीय नेतृत्वसँगको भेटमा गृहमन्त्रीले ती पत्रकारहरुलाई जिल्ला फर्केर ढुक्कसँग काम गर्न आग्रह गरेपनी प्रहरीले नै अन्य जिल्लाबाट वाईसीएललाई सुरक्षा दिएर

ल्याएकाले त्यो भनाइकै आधारमा फर्किन नसकिने सुर्खेत आईपुगेका अर्का पत्रकार भुपेन्द्र शाहीले बताए।

एमाओवादीका जिल्ला इन्चार्ज कर्ण बस्नेतले भने आफ्नो पार्टीले र कार्यकर्ता कसैले पनि पत्रकारलाई धम्की नदिएको बताएका छन्।

उनले सबै पत्रकारलाई जिल्ला फर्किन आग्रह समेत गर्दै भने, “म त उहाँहरुलाई आह्वान गर्छु, आउनुस्, जिल्ला फर्कनुस्, आफ्नो पेशालाई अगाडि बढाउनुस्, पत्रकारिता राज्यको महत्वपूर्ण निकाय हो, हामीबाट उहाँहरुलाई असुरक्षा पनि हुँदैन र धम्की पनि हुँदैन।”

पत्रकार कबिराज बिसीले चाहीं आफू नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताको धम्कीका कारण विस्थापीत हुनु परेको बताएका छन्।


BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।