विपक्षीको अस्तित्व समाप्त पार्ने: प्रचण्ड

पछिल्लोपल्ट अपडेट गरिएको: 30.01.13, 21:15 NST सम्मका समाचार

सत्ता समर्थक गठबन्धनले राजधानीमा आयोजना गरेको प्रदर्शनमा विपक्षीको चर्को विरोध गरिएको थियो

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विरोधमा सडक संघर्ष गर्दै आएका विपक्षीहरु छिटै सहमतिमा नआए उनीहरुको अस्तित्व समाप्त पार्ने चेतावनी दिएका छन्।

सरकारमा सहभागी र सरकार समर्थक दलहरुको संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनका प्रमुख समेत रहेका प्रचण्डले गठबन्धनको शक्ति प्रदर्शनका क्रममा उक्त चेतावनी दिएका हुन्।

संविधानसभा अवसान लगत्तै सत्तारुढ र सत्ता समर्थक दलहरुको उक्त गठबन्धन प्रचण्डले बनाएका हुन्।

"यो गठबन्धन धेरै कुरेर बस्न सक्दैन। हिजो अर्कै तरिकाले लड्यौं, भोलि अर्कै तरिकाले लडेर जनविरोधी र यथास्थितिवादी चरित्रका तपाईंहरुलाई समाप्त पार्नेछौं"

प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी

बुधबार राजधानीमा आयोजित शक्ति प्रदर्शनमा आफुले विपक्षीहरु विरुद्ध नबोल्न निर्देशन दिएको प्रचण्डले बताएका थिए।

नयाँ लडाइ

तर बोल्दै जाँदा उनले भने, "यो गठबन्धन धेरै कुरेर बस्न सक्दैन। हिजो अर्कै तरिकाले लड्यौं, भोलि अर्कै तरिकाले लडेर जनविरोधी र यथास्थितिवादी चरित्रका तपाइहरुलाई समाप्त पार्नेछौं।"

प्रधानमन्त्री बाबुराम भट्टराइले कांग्रेस, एमालेलाई परिवर्तनका विरोधी शक्तिका रुपमा चित्रित गरेका थिए।

उनले सभामा भने, "परिवर्तन नचाहने कांग्रेस, एमालेले संविधानसभाको विघटन गराए, अहिले तिनैले सडकमा आन्दोलनको नेतृत्व गर्नु हास्यास्पद छ।"

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजय गच्छदारले विपक्षीलाई घुँडा टेकाउनकै लागि माओवादीसँगको गठबन्धन बनेको बताए।

परिणाम

"अब पनि हाम्रो अस्तित्व समाप्त गर्न संभव छैन। यो प्रचण्डको निराशा, अलिकति आक्रोशको परिणाम हो"

मिनेन्द्र रिजाल, नेता, नेपाली कांग्रेस

विपक्षी नेताहरुले माओवादी अध्यक्ष प्रचण्डले दिएको पछिल्लो चेतावनीको कडा आलोचना गरेका छन्।

बीबीसीसँग कुरा गर्दै कांग्रेस नेता मिनेन्द्र रिजालले सशस्त्र विद्रोहको शुरुवातै माओवादीले कांग्रेस सिध्याउन गरेको तर असफल भएको बताए।

उनले भने, "अब पनि हाम्रो अस्तित्व समाप्त गर्न संभव छैन। यो प्रचण्डको निराशा, अलिकति आक्रोशको परिणाम हो।"

१६ हजार भन्दा बढी मानिसको ज्यान लिएको दश वर्ष लामो सशस्त्र द्वन्द्वबाट बाहिरिएको ६ वर्षमा मुख्य दलहरु एक अर्का विरुद्ध चर्को आलोचना सहित शक्ति प्रदर्शनमा उत्रिएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।