बित्तिय कसुरको नौ अर्ब छानबीनमा

पछिल्लोपल्ट अपडेट गरिएको: 11.02.13, 15:28 NST सम्मका समाचार
पुनरावेदन अदालत पाटन

बैङकिङ कसुरका मुद्दालाई छिटो सुनुवाई गर्ने व्यवस्था मिलाईएको अदालतले बताएको छ

नेपाल राष्ट्र बैंकको कडाईपछि खासगरी घरजग्गा ब्यवसायमा छाएको मन्दीका कारण पछिल्ला वर्षहरुमा बैंकिङ कसुर र विभिन्न आर्थिक अपराधका मुद्दाहरु ह्वात्तै बढेका छन्।

त्यस्ता मुद्दाको सुनुवाई गर्न पुनरावेदन अदालत पाटनमा गठित वाणिज्य ईजलासमा अहिले झण्डै नौ अर्व रुपैयाँ हिनामिना भएका डेढसय मुद्दा दायर भएका छन्।

ति मुद्दालाई फास्ट ट्रयाक कोर्ट अर्थात छिटो मुद्दा सुनुवाई गर्ने अदालत अन्तर्गत टुङ्गाउने प्रयास भैरहेको अदालत प्रशासनले बताएको छ।

"वाणिज्य ईजलासमा दायर भएका मुद्दामा धेरैजसो चेक बाउन्स भएकासँग सम्बन्धित छन् र अन्यमा बैंकहरुले कृत्रिम श्रृणी खडा गरेर श्रृण प्रवाह गरेको लगायत छन्"

नृपध्वज निरौला, रजिष्ट्रार, पुनरावेदन अदालत पाटन

विभिन्न ११ वटा बैंकमा भएका करौंडौं रुपैयाँ घोटाला र आर्थिक अपराधका मुद्दाहरुमा १६ सय ४० जना व्यक्तीलाई विपक्षी बनाईएको छ।

हिनामिना

ति मध्ये अधिकांश फरार रहेको पुनरावेदन अदालत पाटनको भनाई छ। आठ अर्व ८४ करोड रुपैयाँ भन्दा बढी हिनामिना भएको दाबि गरिएका ति मुद्दाको प्रकृतीबारे उक्त अदालतका रजिष्ट्रार नृपध्वज निरौला भन्छन्, “वाणिज्य ईजलासमा दायर भएका मुद्दामा धेरैजसो चेक बाउन्स भएकासँग सम्बन्धित छन् र अन्यमा बैंकहरुले कृत्रिम श्रृणी खडा गरेर श्रृण प्रवाह गरेको लगायत छन्।”

"राष्ट्र बैंकले कर्जा नीतीमा कडाई गरेपछि घरजग्गामा लगानी गरेकालेले चाहे जस्तो हुन सकेन भने कतिपयले बैकिङ क्षेत्रलाई नै पैसा कमाउने माध्ययमका रुपमा प्रयोग गरेकाले यस्ता मुद्दा बढेका हुन् जस्तो लाग्छ"

भाष्करमणि ज्ञवाली, प्रवक्ता, नेपाल राष्ट्र बैंक

उक्त अदालतको बाणिज्य मुद्दा शाखाले दिएको तथ्यांक अनुसार सरकारले आर्थिक हिनामिनाको अभियोगमा ईन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैक, क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाईनान्स, नेपाल शेयर मार्केट्स प्रालि, सम्झना फाईनान्स, गोरखा विकास बैंक, प्रोग्रेसिभ फाईनान्स कम्पनी लिमिटेडका पदाधिकारी वा कर्मचारी विरुद्व मुद्दा दायर गरेको छ।

त्यस्तै जनरल फाईनान्स कम्पनी लिमिटेड, किष्ट बैंक लिमिटेड, नेपाल श्रीलंका मर्चेन्ट बैकिङ एण्ड फाईनान्स लिमिटेड, क्रिष्टल फाईनान्स लिमिटेड र एच एण्ड बि डेभ्लोप्मेण्ट बैकका पदाधिकारी वा कर्मचारी विरुद्व पनि मुद्दा दायर गरिएको छ।

कारण

आर्थकि अपराधका मुद्दा बढ्नुका प्रमुख कारण के हुन सक्छन्? राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, “राष्ट्र बैंकले कर्जा नीतीमा कडाई गरेपछि घरजग्गामा लगानी गरेकालेले चाहे जस्तो हुन सकेन भने कतिपयले बैकिङ क्षेत्रलाई नै पैसा कमाउने माध्ययमका रुपमा प्रयोग गरेकाले यस्ता मुद्दा बढेका हुन् जस्तो लाग्छ।”

"कैयौं ठाउँमा चाहिँ कर्मचारीकै गल्ती छ, कैयौं ठाउँमा ग्राहकहरुको गलत नियतका कारण श्रृण बढ्दै गयो भने यहिं बीचमा बैंकिङ कसुर सम्बन्धि ऐन आएकाले पनि यस्ता मुद्दाको संख्या बढेको होला"

सुधीर खत्रि, उपाध्यक्ष, नेपाल बैंकर्स एसोसिएशन

शुरुमा बैंक खोल्न खुकुलो नीति लिईएकाले पनि समस्या भएको ज्ञवालीले बताए।

तर बैंकर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुधीर खत्रिले चाहिँ बैंकीङ कसुर सम्बन्धी मुद्दा बढ्नुको कारणलाई यसरी व्याख्या गरे, “कैयौं ठाउँमा चाहिँ कर्मचारीकै गल्ती छ, कैयौं ठाउँमा ग्राहकहरुको गलत नियतका कारण श्रृण बढ्दै गयो भने यहिं बीचमा बैंकिङ कसुर सम्बन्धि ऐन आएकाले पनि यस्ता मुद्दाको संख्या बढेको होला।”

दिन दुई गुणा रात चौगुना बढीरहेको घर र जग्गाको कारोवारलाई कडा नीति मार्फत नियन्त्रण गरेको राष्ट्र बैंकले आर्थकि अपराधका घटना बढ्न नदिन बैकीङ क्षेत्रको विशेष निगरानी र अनुगमनलाई जारी राख्ने बताएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।