सहमतिबारे एमाले-निर्णयको प्रतीक्षा

पछिल्लोपल्ट अपडेट गरिएको: 14.02.13, 21:02 NST सम्मका समाचार
प्रधान न्यायाधीश खिलराज रेग्मी

एकीकृत माओवादीले चुनावी सरकारको नेतृत्वमा प्रस्ताव गरेपछि प्रधान न्यायाधीश खिलराज रेग्मी चर्चामा छन्

विपक्षी नेकपा एमालेले आन्तरिक बैठकका निम्ति समय माग गरेपछि राष्ट्रपति कार्यालयमा बिहीबार दुई पटक भएका चार राजनीतिक शक्तिबीच बैठक अनिर्णित बन्न पुगेको छ।

सत्ताधारी दुई थरी र विपक्षी दुई दल चुनावी सरकारमा सहमति जुटाउन बिहान राष्ट्रपति कार्यालय पुगेका थिए।

एमालेले स्थाय कमिटीको बैठकका निम्ति समय मागेपछि तीन बजे भेट्ने गरी उनीहरु त्यहाँबाट छुट्टिए।

नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले भने, "तीन बजे आएर उहाँहरुले केन्द्रिय समितिको बैठक नै गर्नु पर्‍यो भनेपछि शुक्रबार दुई बजे भेट्ने गरी बैठक स्थगित गरिएको हो।"

विमति

"जटिलता नभएका होइनन्, तर हामी शुक्रबार एउटा सहमतिमा पुग्न सक्ने सम्भावना छ"

झलनाथ खनाल, एमाले अध्यक्ष

एकीकृत माओवादीले प्रस्ताव गरे जस्तो प्रधान न्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिनेमा एमालेभित्र चर्को विमति देखिएका खबरहरु आइरहेका छन्।

उक्त दलका कतिपय नेताहरुले त बरु फेरि एकिकृत माओवादीका अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्नु पर्ने धारणा सार्वजनिक गर्न थालेका छन्।

ती सम्भावनाहरुबारे नबोले पनि राष्ट्रपति कार्यालयमा भएको बैठकबाट निस्किँदा एमाले अध्यक्ष झलनाथ खनालले भने, "जटिलता नभएका होइनन्, तर हामी शुक्रबार एउटा सहमतिमा पुग्न सक्ने सम्भावना छ।"

"धेरै कुरा नबोलौं, आएको प्रस्तावमा भइरहेको छलफलबारे विपक्षीहरुको धारणा सकारात्मक नै छन्"

नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, एकीकृत माओवादी

अर्को विपक्षी दल कांग्रेस केन्द्रिय समितिको बुधबार बसेको बैठकले आफ्ना तीन शीर्ष नेतालाई निर्णय गर्ने अधिकार सुम्पिसकेको छ।

फरक चासो

दुबै विपक्षी दलका कतिपय प्रभावशाली नेताहरुले एकीकृत माओवादीको प्रस्ताव मान्नै नसकिने प्रतिकृया दिएका थिए।

अहिले पनि केही नेताहरु त्यसमा अडिग देखिन्छन्।

माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, "धेरै कुरा नबोलौं, आएको प्रस्तावमा भइरहेको छलफलबारे विपक्षीहरुको धारणा सकारात्मक नै छन्।"

तर जेठमा चुनाव गराउने गरी सहमति नभएमा सडक र सरकारमा रहेमा प्रमुख दलहरुले कुन बाटो समात्लान् र राष्ट्रपतिको भूमिका कस्तो होला भन्ने चासो पनि बढ्न थालेको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।