सहमति नभए नयाँ परिस्थिति: राष्ट्रपति

पछिल्लोपल्ट अपडेट गरिएको: 15.02.13, 20:53 NST सम्मका समाचार
राष्ट्रपति

चुनावी सरकारको नेतृत्वमा सहमति नगरे आइतबारदेखि नयाँ परिस्थति आउन सक्ने राष्ट्रपतिले बताए

चुनावी सरकारको नेतृत्वका बारेमा दलहरुले शनिबारसम्ममा सहमति गर्न नसके वाध्य भएर आइतबारदेखि नयाँ परिस्थिति सिर्जना हुनसक्ने चेतावनी राष्ट्रपति रामवरण यादवले दिएको उनलाई भेटेका एकजना नेताले बताएका छन्।

बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने कि नगर्ने भन्नेमा दलहरु शुक्रबार पनि सहमतिमा पुग्न नसकेपछि राष्ट्रपतिबाट त्यस्तो भनाइ आएको नेपाली काँग्रेसका नेता रामशरण महतले बीबीसीलाई बताए।

तर एमालेले प्रधानन्यायाधीशको नेतृत्व स्वीकार्ने निर्णय गरे शनिबार दलहरुबीच चुनावी सरकारबारे सहमति हुने बताइएको छ।

"राष्ट्रपतिले बढी चिन्तित हुँदै भोलिसम्ममा तपाईहरु एउटा सहमतिमा पुग्नु पर्छ होईन भने म वाध्य भएर पर्सिदेखि एउटा नयाँ परिस्थतिमा पुग्नुपर्ने अवस्था आउन सक्छ भनेर सतर्क गराउनुभयो"

रामशरण महत, नेता, नेपाली काँग्रेस

सहमति गरेर आउने वाचा अनुसार शुरुमा एकीकृत माओवादी, नेपाली काँग्रेस र मधेशी मोर्चका नेताहरु शुक्रबार साँझ शितल निवास पुगेका थिए।

लगत्तै प्रधान न्यायाधीशको नेतृत्व स्वीकार्ने कि नस्वीकार्ने भन्ने अन्तिम निर्णय लिएर आउने अपेक्षा गरिएका एमाले नेताहरु त्यहाँ पुगे, तर रित्तो हात।

सतर्क

राष्ट्रपति र अन्य दलहरु सामु एमाले नेताहरुले निर्णय गर्न नसकेको बताएपछि राष्ट्रपति चिन्तित देखिएको र उनले शनिबारसम्ममा पनि सहमति नजुटे पर्सि (आईतबारदेखि) नयाँ परिस्थिति सिर्जना हुने तर्फ सतर्क गराएको बैठकमा सहभागी काँग्रेस नेता रामशरण महतले बताए।

उनले भने, “राष्ट्रपतिले बढी चिन्तित हुँदै भोलिसम्ममा तपाईहरु एउटा सहमतिमा पुग्नु पर्छ। होइन भने म वाध्य भएर पर्सिदेखि एउटा नयाँ परिस्थतिमा पुग्नुपर्ने अवस्था आउन सक्छ भनेर सतर्क गराउनुभयो।”

एकीकृत माओवादी प्रस्तावक भएको र नेपाली काँग्रेसका शीर्ष नेताहरुले प्रधानन्यायाधीशको नेतृत्व स्वीकार गर्ने सहमति जनाईसकेका कारण धेरैका आँखा शुक्रबार बसेको एमाले केन्द्रिय समितिको र्बठकतर्फ सोझिएका थिए।

"हाम्रो बैठकमा छलफल जारी छ, पक्ष र विपक्षमा तर्क वितर्कहरु भईरहेका छन्, निकास दिनुपर्छ भन्ने कुरा पनि जोडदार रुपमा उठेको छ। तर कसरी दिने भन्ने बारेमा विभिन्न दृष्टिकोणहरु आएका छन्, भोलिको बैठकबाट सकारात्मक निर्णय आउँछ"

रघुजी पन्त, नेता, नेकपा एमाले

एमालेको निर्णयपछि शुक्रबार साँझ सम्ममै सहमति हुने अपुष्ट खबरहरु बाहिर आएका थिए।

तर निर्णायक ठानिएको एमालेको बैठकमा प्रधानन्यायाधीशको नेतृत्वको सवालमा सदस्यहरुबीच मत माझिएपछि बैठक पर सरेको उक्त पार्टीका नेताहरुले बताए।

सकारात्मक

एमाले केन्द्रिय सदस्य रघुजी पन्तले शनिबारको बैठकबाट प्रधानन्यायाधीशको नेतृत्वका सम्बन्धमा सकरात्मक निर्णय आउने बताए।

पन्तले भने, “हाम्रो बैठकमा छलफल जारी छ, पक्ष र विपक्षमा तर्क वितर्कहरु भइरहेका छन्, निकास दिनुपर्छ भन्ने कुरा पनि जोडदार रुपमा उठेको छ। तर कसरी दिने भन्ने बारेमा विभिन्न दृष्टिकोणहरु आएका छन्, भोलिको बैठकबाट सकारात्मक निर्णय आउँछ।”

एमाले बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यले महाधिवेशनबाट प्रधानन्यायाधीशको नाम प्रस्ताव गर्ने एकीकृत माओवादीको शैली नै गलत भएको बताएका थिए।

उनीहरुले राजीनामा नगरी प्रधानन्यायाधीशको नेतृत्व स्वीकार गर्दा शक्ति पृथकीकरणको सिद्धान्तमा आँच आउन सक्ने धारणा पनि राखेका थिए।

एमालेले स्वीकार गरे प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बन्ने भएपनि उनको नेतृत्वमा कुन संवैधानिक विधिबाट कस्तो र कुन आकारको सरकार बनाउने लगायतका विषयमा अझै कुरा मिली नसकेको नेताहरुले बताएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।