सरकारको नेतृत्व गर्न प्रधानन्यायाधीशको आनाकानी

पछिल्लोपल्ट अपडेट गरिएको: 19.02.13, 21:16 NST सम्मका समाचार
प्रधानमन्त्री बाबुराम भट्टराई

प्रधानमन्त्रीसंगको भेटमा प्रधानन्यायाधीशले आफ्ना चिन्ताहरु व्यक्त गरेका थिए

यथास्थितिमा चुनावी सरकारको नेतृत्व गर्न प्रधानन्यायाधीश तयार नभएपछि प्रमुख दलका शीर्ष नेताहरुले उनलाई बुधबार सामुहिक रुपमा मनाउने प्रयास गर्ने भएका छन्।

प्रधानमन्त्री बाबुराम भट्टराईसंगको भेटमा प्रधानन्यायाधीश खिलराज रेग्मीले दलहरुमा मतभेदहरु कायमै रहेको अवस्थामा आफुले चुनावी सरकारको नेतृत्व गर्न नसक्ने जानकारी गराएका थिए।

दलहरुले तयार पारेको सहमतिको खाकाप्रति पनि उनको असहमति रहेको बुझिएको छ।

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनेबारे लगभग ढुक्क भएका प्रमुख दलहरुलाई मंगलबार प्रधानन्यायाधीशले व्यक्त गरेको आशंकाले आफ्नो चुनावको मार्गचित्रबारे थप प्रष्ट हुन घच्घच्याएको हुन सक्छ।

चिन्ता

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलका अनुसार आफुलाई भेट्न आएका प्रधानमन्त्री भट्टराईसंग प्रधानन्यायाधीश रेग्मीले सबैको सहयोग र प्रतिबद्धता नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

"सबैले सहयोग गर्नु भयो, कोहीले कतै पनि विरोध गर्नु भएन भने संभव हुन्छ, नभए अलि गाह्रो हुन्छ की भन्ने कुरा उहाँले गर्नु भयो, उहाँले पुरै इन्कार गर्नु भयो भन्ने कुरा साँचो होइन"

देवेन्द्र पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

“सबैले सहयोग गर्नु भयो, कोहीले कतै पनि विरोध गर्नु भएन भने संभव हुन्छ, नभए अलि गाह्रो हुन्छ की भन्ने कुरा उहाँले गर्नु भयो, उहाँले पुरै इन्कार गर्नु भयो भन्ने कुरा साँचो होइन।”

मंगलबार सांझ बसेको प्रमुख राजनीतिक दलका नेताहरुको वैठकमा प्रधानमन्त्रीले प्रधानन्यायाधीशले व्यक्त गरेका चिन्ताबारे जानकारी गराएका थिए।

त्यसबारे नेपाली कांग्रेसका नेता रामशरण महतले भने, “राजनीतिक दलहरुको निर्वाचन र सहमतिका बुँदाहरुका सम्वन्धमा उहाँले प्रतिबद्धता खोज्नु भयो र सहमतिका बुँदाहरुका बारेमा पनि उहाँले चिन्ता व्यक्त गरेको कुरा प्रधानमन्त्रीले बताउनु भयो।”

प्रधानन्यायधीशले व्यक्त गरेको आशंकाबारे छलफल गरेको बताइएको सो वैठक प्रधानन्यायाधीशसंग सामुहिक भेट गर्ने निश्कर्षमा पुगेको पौडेलले बताए।

"राजनीतिक दलहरुको निर्वाचन र सहमतिका बुँदाहरुका सम्वन्धमा उहाँले प्रतिबद्धता खोज्नु भयो र सहमतिका बुँदाहरुका बारेमा पनि उहाँले चिन्ता व्यक्त गरेको कुरा प्रधानमन्त्रीले बताउनु भयो"

रामशरण महत, नेता, नेपाली कांग्रेस

“उहाँलाई सशंकित नहुनु होला, हामीसंग कुनै विकल्प रहेन, त्यसैले चुनाव सम्मका लागि जिम्मेवारी लिनुहोस् भनेर सामुहिक रुपमा अनुरोध गर्ने निश्कर्ष निस्कियो।”

सहमतिको खाका

जेठ २२ गते चुनाव गर्ने गरि प्रधानन्यायाधीशको नेतृत्वमा ११ सदस्सीय चुनावी मन्त्रिपरिषद गठन गर्न प्रमुख राजनीतिक दलहरुबीच सोमबार नै सहमति भएको थियो।

प्रमुख दलहरुले प्रधानन्यायाधीशले कार्यपालिकाको जिम्मेवारी लिएपछि न्यायपालिकाको काम गर्न नपाउने, प्रमुख दलहरुका शीर्ष नेता सहभागी संयन्त्र बनाउने, ४९१ सदस्य रहने पाँच वर्षे कार्यकालको संविधानसभा एवं संसद बनाउने जस्ता विषयमा सहमति गरेको बताएका थिए।

तर दलहरुबीच शान्ति प्रक्रियालाई अन्तिम निश्कर्षमा पुर्‍याउने तथा नागरिकता, मतदाता नामावाली, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्वन्धी अध्यादेश लगायतका विषयमा मंगलबार पनि कुरा मिल्न नसकेको नेताहरुको भनाइ छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।