‘दर्जा मिलानमा मात्र कुरा मिल्न बाँकी’

पछिल्लोपल्ट अपडेट गरिएको: 12.03.13, 20:43 NST सम्मका समाचार
प्रमुख दलका शीर्ष नेताहरु

माओवादीका पूर्व लडाकुको दर्जा मिलानमा कुरा मिले बुधवार नै नयाँ सरकार गठह हुने नेताहरुले बताएका छन्

प्रमुख दलका नेताहरुले माओवादीका पूर्व लडाकूलाई नेपाली सेनामा समायोजन गर्दा दिइने दर्जा सम्बन्धि एकमात्र विषयमा कुरा नमिल्दा सहमति पत्रमा मंगलवार हस्ताक्षर हुन नसकेको बताएका छन्।

यो विषयलाई बुधवारसम्ममा मिलाएर बुधवार नै प्रधान्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दाबी उनीहरुको छ।

बाधा अड्काउ फुकाउका लागि तयार पारिएको मस्यौदाप्रति प्रधानन्यायधीशले देखाएका चासोलाई सम्बोधन गरिएको नेताहरुले बताए।

"“खासगरि माओवादीका पूर्व लडाकूको दर्जा मिलान सम्बन्धि विषयमा अन्तिम टुंगो नलागेकाले मंगलवारै हस्ताक्षर गर्ने भनिएको थियो तर त्यो बुधवार बिहानलाई सरेको हो"

खिमलाल देवकोटा, नेता, एकीकृत माओवादी

विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुले चाहिँ आफूहरुलाई निषेध गरेर गरिने निर्णय स्वीकार्य नहुने बताएका छन्।

बिहानैदेखि छलफलमा जुटेका नेताहरुले अरु विषयमा सहमति जुटेपनि माओवादीका पूर्व लडाकुको दर्जा मिलान सम्बन्धि विषयमा अन्तिम टुंगो नलागेकाले सहमति पत्रमा हस्ताक्षर हुन नसकेको बताएका छन्।

विवाद

नयाँ सरकार गठनका कानुनी बाधा हटाउन गठित कार्यदलका एक सदस्य एवं एकीकृत माओवादीका नेता खिमलाल देवकोटाले भने, “खासगरि माओवादीका पूर्व लडाकूको दर्जा मिलान सम्बन्धि विषयमा अन्तिम टुंगो नलागेकाले मंगलवारै हस्ताक्षर गर्ने भनिएको थियो तर त्यो बुधवार बिहानलाई सरेको हो।”

कार्यदलकै अर्का सदस्य नेकपा एमालेका नेता भिम रावलले पनि अब मुख्य रुपमा दर्जा मिलान सम्बन्धि विषयमा मात्र सहमति हुन बाँकी रहेको बताए।

"एमाओवादीले एकजना कर्णेल र दुईजना लेफ्टिनेन्ट कर्णेल हुनुपर्छ भनेर उहाँहरुले भन्नु भएको छ, हामीले लेफ्टिनेन्ट कर्णेलमात्र हुन सक्छ भन्ने कुरा राखेका छौं"

भिम रावल, नेता, नेकपा एमाले

दर्जा मिलानमा एकीकृत माओवादी र विपक्षी दलको अडानबारे उनले भने, “एमाओवादीले एकजना कर्णेल र दुईजना लेफ्टिनेन्ट कर्णेल हुनुपर्छ भनेर उहाँहरुले भन्नु भएको छ, हामीले लेफ्टिनेन्ट कर्णेलमात्र हुन सक्छ भन्ने कुरा राखेका छौं।”

नेताहरुले द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई आम माफी नदिने गरि सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि आयोग गठनमा कुरा मिलाइएको बताएका छन्।

नयाँ सरकारसँगै बन्ने राजनीतिक संयन्त्रको भूमिकाका विषयमा प्रधानन्यायाधीशले देखाएका चासो सम्बोधन गरिएको नेताहरुले बताए।

"चार राजनीतिक दलको अहिलेको कसरतलाई संस्थागत गरेर यसलाई संविधानको अंग बनाउने प्रयास र जुन सिण्डिकेट छ, यो चाहिँ संविधानको भावना विपरित र प्रजातन्त्रको मूल्य मान्यतामा आघात पुराउने विषय हो भन्ने कुरा हामीले राख्यौं"

कमल थापा, अध्यक्ष, राप्रपा नेपाल

यसअघि मस्यौदाको बुँदामा संयन्त्रको भूमिका उल्लेख गरेपनि त्यहाँबाट हटाएर त्यसलाई प्रस्तावनामा मात्र सिमित गरिएको नेताहरुले बताएका छन्।

‘आघात’

आफूहरुबीच मंगलबारसम्म भएका सहमतिबारे जानकारी गराउन प्रमुख चार राजनीतिक शक्तिले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलका प्रतिनिधीहरुसँग मंगलबार नै छलफल गरेका छन्।

उक्त छलफलमा साना दलले दिएका सुझाव सुनाउँदै राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने, “चार राजनीतिक दलको अहिलेको कसरतलाई संस्थागत गरेर यसलाई संविधानको अंग बनाउने प्रयास र जुन सिण्डिकेट छ, यो चाहिँ संविधानको भावना विपरित र प्रजातन्त्रको मूल्य मान्यतामा आघात पुराउने विषय हो भन्ने कुरा हामीले राख्यौं।”

माओवादीका पूर्व लडाकूको दर्जा मिलान सम्बन्धि विषयमा बुधवार पनि सहमति नजुटे प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने विषय केही पर धकेलिन सक्छ किनभने बिहीवारदेखि यही विषयमा सर्वोच्च अदालतमा बहस शुरु हुँदै‍छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।