चुनावमा प्रजातान्त्रिक गठबन्धन बनाएर लडन् सकिन्छ: कोइराला

  • 26 मार्च 2013
नेपाली कांग्रेसका नेताहरु
Image caption गठबन्धन बनाएर चुनावमा जाने विषयमा कांग्रेसभित्र एकमत चाहिं देखिंदैन

संविधानसभाको आगामी चुनावमा स्पष्ट ध्रुवीकरणको सम्भावनाप्रति संकेत गर्दै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उनकै शब्दमा प्रजातान्त्रिक शक्तिहरुसंग मिलेर निर्वाचनमा उत्रन सकिने बताएका छन्।

एकीकृत माओवादी नेतृत्वको गठवन्धनले साझा उम्मेदवार र साझा घोषणापत्र निर्माण गर्न सकिने संकेत दिएको लगत्तै कोइरालाको उक्त भनाई आएको हो।

मंगलबार पश्चिम नेपालको पोखरामा एक पत्रकार सम्मेलनमा बोल्ने क्रममा कोइरालाले सो भनाई राखेका हुन्।

सम्भावना

“हामी गठबन्धनपनि निर्माण गर्न सक्छौं। किनभने प्रजातान्त्रिक शक्तिहरु एक हुनुपर्छ। अब अहिले मधेसवादी मोर्चा सहित एकीकृत माओवादीको गठबन्धन बनेको छ। त्यसकारण हामीपनि प्रजातन्त्रप्रति आस्था राख्ने सबैसंग मिल्छौं,” कोइरालाले भने।

कुनकुन दलहरुसँग मिलेर जान सकिन्छ भन्नेबारे भने सभापति कोइरालाले खुलाएनन्।

तर कांग्रेसकै अन्य वरिष्ठ नेताले चाहिं सभापति कोइरालाले भनेजस्तो गठबन्धन बनाइने सम्भावना नरहेको बताएका छन्।

पत्रकार सम्मेलनकै क्रममा वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति कोइरालाको भन्दा फरक दृष्टिकोण राखेका थिए।

“गठबन्धन बनाउने भन्ने कुरा छैन। त्यो न कांग्रेस चाहन्छ, न एमाले चाहन्छ,” देउवाले बताए।

हाल एकीकृत माओवादीको नेतृत्वमा मधेशी मोर्चा सहित करीब दुई दर्जन दल सम्मिलित संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा क्रियाशील छ। एकीकृत माओवादी नेता बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनेपछि उक्त मोर्चाको निर्माण भएको थियो।

सो मोर्चा बाहिर यसअघि विपक्षी रहेका नेपाली कांग्रेस तथा नेकपा एमाले लगायत दलहरु छन्।

चुनावमा सबै दलहरुलाई संगै लिएर जानुपर्ने सभापति काइरालाको जोड थियो।

उनले मोहन वैद्य नेतृत्वको दल नेकपा माओवादीलाईपनि चुनावमा ल्याउनुपर्ने बताए।