असन्तुष्ट दललाई चुनावमा ल्याउ: राष्ट्रपति

  • 30 मार्च 2013

मोहन वैध नेतृत्वको नेकपा माओवादी लगायतका केही दलले चुनाव हुन नदिने धम्की दिन थालेपछि राष्ट्रपति डा. रामवरण यादवले त्यसतर्फ चार मुख्य राजनीतिक शक्तिको ध्यानाकर्षण गराएका छन्।

Image caption मन्त्रिपरिषद अध्यक्ष रेग्मीले सबै असन्तुष्ट पक्षलाई चुनावमा भाग लिन अपील गरेका छन्

ती दलका शीर्ष नेताले चुनावी सरकार गठन गर्ने बेला चुनावमा सबै पक्षलाई समेट्ने भनि आफूलाई दिएको वचन राष्ट्रपतिले उनीहरुलाई सम्झना गराएका हुन्।

आउँदो वर्ष सकेसम्म असारमै चुनाव गर्ने लक्ष्यका साथ सरकार गठन भएको दुई साता बित्दा पनि चुनावको मितिको ठेगान नलागेपछि चुनावको पक्ष र विपक्षका गतिविधि सघन हुन थालेका छन्।

बिदामा चासो

यस्तो स्थितिका माझ राष्ट्रपति यादवले शनिवार चुनावी सरकारका गठनकर्ता दलका नेतालाई डाकेर छलफल गरेका थिए।

बिदाका दिन समेत राष्ट्रपतिले देखाएको चासोको कारणबारे उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, "सहमति गर्ने बेला ती दलले राष्ट्रपतिसँग सबै पक्षलाई समेटेर चुनावमा जाने बताएका थिए, उहाँले त्यही कुरा स्मरण गराउँदै सबैलाई साथ लिएर स्वतन्त्र र निष्पक्ष चुनाव हुने कुरा सुनिश्चित गर्न आग्रह गर्नु भयो।"

कतिपय दलका असन्तुष्टी र विरोध चुनावका निम्ति चुनौतिपूर्ण हुन सक्ने सम्भावनालाई मध्यनजर गरेरै हुनसक्छ सरकारले शुक्तवार परामर्श तथा समन्वय टोली नाम दिइएको वार्ता टोली गठन गरेको थियो।

मन्त्रीहरु सम्मिलित उक्त टोलीले मन्त्रिपरिषदका अध्यक्षसँग शनिवार भावी योजनाबारे छलफल गरेको थियो।

छिट्टै वार्ता

टोलीका सदस्य तथा सरकारका प्रवक्ता समेत रहेका मन्त्री माधव पौडेलले चुनावसँग सरोकार राख्ने सबै पक्षसँग कुरा गर्न अध्यक्षले केही निर्देशन दिएका बताए।

नेकपा माओवादीसँग सरकारले गर्ने सम्वादको सम्भावनाबारे उनले भने, "अब चुनावका सबै पक्षसँग सकेसम्म छिट्टै सम्पर्क गर्ने कोशिश गर्छौं।"

तर नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरुले खारेज हुनुपर्ने माग गरिहरहेको सरकारसँग वार्ता गर्ने सम्भावना अन्त्य गरदिएका छन्।

काठमाण्डूमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा उनले भने, "प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने, बाधा अड्काउ फुकाउ लगायतका सहमति खारेज हुनु पर्छ, नत्र वार्ताको कुनै अर्थ छैन।"

लामो राजनीतिक संकटलाई निकास दिन भन्दै ठूलो विवादका माझ बनाइएको सरकारको जन्मसँगै चुनावका व्यवधान प्रकट भएका हुन्।

तर चुनाव हुन नसकेमा दलहरुले चिताए जस्तै उनीहरुले कोरिदिएको राजनीतिक घेराभित्रै मुलुकको भावी राजनीतिको अवतरण होला भन्ने पनि अनिश्चित नै देखिन्छ।