चुनावको मिति घोषणा नगरेको भन्दै सरकारप्रति एमाओवादी रुष्ट

  • 3 एप्रिल 2013
खिलराज रेग्मी
Image caption सरकारले सबै दलहरु बसेर चुनावी तिथिमितिबारे साझा सुझाव दिन आग्रह गरेको बताइएको छ

असारभित्रै निर्वाचन गराउन सकिने वाचा गर्दै गठन भएको सरकार तथा निर्वाचन आयोगका पदाधिकारीहरुले चुनावको तिथि तोक्न ढिलाइ गरेकोप्रति एकीकृत नेकपा माओवादीले तीव्र असन्तुष्टि प्रकट गरेको छ।

पार्टी अध्यक्ष प्रचण्डसंगको भेटमा अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले चाहिं सबै पार्टी मिलेर चुनावी तिथिबारे साझा सुझाव दिन आग्रह गरेको बताइएको छ।

निराश

वर्तमान मन्त्रिपरिषद गठनका निम्ति निकै अग्रसर रहेको एकीकृत नेकपा माओवादीका नेताहरुले सरकार बनेको तीन साता नबित्दै निराश भएको संकेत दिएका छन्।

सोही निराशा पोख्न पार्टी अध्यक्ष प्रचण्ड बुधबार मन्त्रिपरिषदका अध्यक्षलाई भेट्न गएका थिए।

त्यहाँ उनले राखेको चिन्ताप्रति मन्त्रिपरिषद अध्यक्ष रेग्मीले दिएको जवाफबारे जानकारी दिंदै एकीकृत माओवादीका महासचिव पोष्टबहादुर बोगटीले भने, “निर्वाचन आयोगले अझैपनि सल्लाह दिन सकिरहेको छैन। त्यसैले गर्दा गाह्रो, गाह्रो स्थिति देखिन्छ। त्यसकारण एकचोटि राजनीतिक दलहरु बसेरै सल्लाह दिनपर्‍यो भन्ने हिसाबले उहाँले (रेग्मीले) कुरा राख्नुभएको मैले बुझेको छु।”

सरकारले तत्कालिन संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलसंग निर्वाचनका विविध पक्षबारे छलफल गर्न बिहीबार बैठकबोलाएको मन्त्रिपरिषद अध्यक्षका प्रेस सल्लाहकार बिमल गौतमले बीबीसीलाई बताए।

अन्योल

असारभित्र चुनाव गर्नपर्ने स्थिति प्रष्ट पारेरै सरकार अनि निर्वाचन आयोगका पदाधिकारीहरु नियुक्ति गरिएको तर अहिले तिथिबारे कसैले तत्परता नलिएको भन्दै एकीकृत माओवादीका महासचिव बोगटीले आक्रोश पोखेका छन्।

“यो, यो कारणले भएन त्यसैले यो बेला हुन सक्छ भनेर तिथि घोषणा गर्नुपर्‍यो। यो तिथि घोषणा गर्न किन अलमल भइराख्या छ? यदि असारमा नहुने नै हो भनेपनि त कारणसहित भन्नुपर्‍यो, जनतालाई चित्त बुझाउनुपर्‍यो। हामीले त सम्भव देखेका हौं, किनभने त्यो सम्भव देखेरै सबैजनाले हिजो पदभार ग्रहण गर्नुभा'हो,” बोगटीले भने।

बुधबार नै अर्को प्रमुख दल नेपाली कांग्रेसको बैठकमा पनि चुनावी तिथिको अन्योलप्रति चिन्ता व्यक्त गरिएको थियो।

पार्टी केन्द्रिय कार्य समितिको बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राखेको राजनीतिक प्रस्तावमा सके असार नत्र मंसिरभित्र चुनाव भइसक्नुपर्ने उल्लेख गरिएको छ।

तर सोही बैठकमा छलफल हुनुपर्ने र प्रस्तावमा समेटिनुपर्ने भन्दै केही कांग्रेस नेताहरुले राखेको लिखित धारणामा चुनाव असारमै गर्नुपर्ने उल्लेख छ।

त्यस्तो धारणा राख्नेमध्येका एकजना नेता अर्जुन नर्सिंह केसीले भने, “असारभित्रै चुनाव हुनुपर्छ भन्नेमा हामी दृढ छौं। यो कुनै हालतमा सार्न हुन्न।”

चुनावी तिथिबारे राजनीतिक दलहरुबाट आइरहेका टिप्पणीहरुले जे संकेत गरेपनि मोहन वैद्य नेतृत्वको माओवादी लगायतका असन्तुष्ट दलहरुलाई समेट्न पर्ने राजनीतिक वाध्यता तथा मतदाता नामावली अनि निर्वाचन ऐनहरुको टुंगो लगाउन पर्ने प्राविधिक सीमाले असारभित्रै चुनाव हुने संभावना लगभग पर सरिसकेको विश्लेषकहरु बताउँछन्।