वैद्य माओवादीद्वारा संयन्त्रसंग वार्ता गर्न अस्वीकार

  • 5 एप्रिल 2013
प्रचण्ड र मोहन वैद्य
Image caption प्रचण्ड नेतृत्वको माओवादीबाट टुक्रिएको वैद्य नेतृत्वको माओवादी वर्तमान चुनावी प्रक्रियाप्रति असन्तुष्ट छ

चुनावको वातावरण बनाउनका निम्ति असन्तुष्ट दलहरुसंग वार्ता गर्ने भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रले मोहन वैद्य नेतृत्वको माओवादीलाई शुक्रबार बोलाएको वार्तामा संयन्त्रको वैधानिकतामाथि प्रश्न उठाउँदै आफुहरु नगएको उक्त दलका उपाध्यक्षले बताएका छन्।

वर्तमान सरकार र त्यसको गठनकालागि मुख्य दलहरुले गरेको सम्झौता खारेज गर्ने विषयमा अलग, अलग दलहरुसंग छलफल भने गर्न सकिने उनले बताए।

आफुले उठाएका मुद्दाहरुमा छलफल हुने भए बैठकमा जान सकिने भनी बिहीबार प्रतिक्रिया दिएको वैद्य माओवादीले शुक्रबार चाहिं सो संयन्त्रको वैधानिकता र हैसियतमाथिनै प्रश्न उठाएको छ।

बैठकमा नगएको कारण खुलाउँदै नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भने, “यो संयन्त्र कति वैधानिक हो, यसको कति अधिकार क्षेत्र हो भन्ने प्रश्न हामीले उठाएका छौं। त्यसकारण संयन्त्रसंग औपचारिक छलफल गर्ने हाम्रो निर्णय छैन। तर विभिन्न दलहरुसंग अलग अलग अनौपचारिक कुराकानी गर्न सकिन्छ।”

प्रतिबद्धता

तर त्यस्तो कुराकानी अघि आफुहरुले भन्दै आएको वर्तमान सरकार र दलहरुको सम्झौता खारेजीको विषयमा छलफल गर्न उनीहरु प्रतिबद्ध हुनुपर्ने गजुरेलले बताए।

“वार्तामा त बस्नु पर्छ। तर उहाँहरुले गरेका गल्ती सच्च्याउने प्रतिबद्धता त जाहेर गर्न पर्‍यो नि पहिले,” उनले भने।

वैद्य माओवादीजस्तै वर्तमान सरकार र मुख्य दलहरुको चुनावी तयारीप्रति असन्तुष्ट मधेशी जनाधिकार फोरम नेपाललेपनि प्रमुख दलहरुले, उसकै शब्दमा, गल्ती सच्च्याउनु पर्ने माग गरेको छ।

“गल्तीहरु र असंवैधानिक कदमहरुलाई सच्च्याउन तयार हुने हो भने अघि बढ्न सकिन्छ। होइन उनीहरुको निर्णय लाद्ने मनसाय हो भने त्यो हामीलाई मान्य हुँदैन,” फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए।

निहुँ

तर निकै कसरत र गृहकार्यपछि चुनावी सरकारको गठन गर्ने राजनीतिक सम्झौता गरेका प्रमुख दलहरु त्यस्तो प्रतिबद्धता जनाउने मनस्थितिमा देखिंदैनन्।

एकीकृत माओवादीका महासचिव पोष्टबहादुर बोगटीले भने, “त्यस्तो त्यो नहुने कुराको प्रतिबद्धता गरेर के फाइदा? संयन्त्रको काम वार्तामा बोलाउने हो, उहाँहरु नआउने भए आउनुहुन्न। निहुँ खोज्ने भए त जे भने पनि भयो, तर यो संयन्त्र हिजोको संविधानसभाताका देखिनै दलहरुबीचको सहमति बमोजिम बनेको हो।”

असारमा वा मंसिरमा जहिले चुनाव गरेपनि वैद्य माओवादी लगायतका असन्तुष्ट पक्षहरुलाई विश्वासमा नलिइकन त्यसको सार्थकता हुन नसक्ने धेरैको ठम्याइ छ।