चुनावको मितिबारेको अन्योल कायमै

  • 13 एप्रिल 2013
निर्वाचन आयोग
Image caption मिति घोषणा नहुँदा असारमा हुने भनिएको चुनावबारेको अन्योल कायमै छ

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डबीच शनिबार चुनावको मितिबारे छलफल भएको बताइएपनि त्यसबारेको अन्योल हट्न सकेको छैन।

प्रमुख राजनीतिक दलहरु सहभागी राजनीतिक समितिले सरकारलाई चुनावको मिति घोषणा गर्न शुक्रबार औपचारिक रुपमा आग्रह गरेको थियो।

शनिवार प्रचण्डसंगको भेटमा रेग्मीले चुनाव गर्ने वातावरण बनाउनको निम्ति सबै दलहरुको सहयोग आवश्यक रहेकोमा जोड दिएको उनका प्रेस सल्लाहकारले बताए।

असारमा गर्ने भनिएको संविधानसभाको दोस्रो चुनाव कार्तिकको अन्त्य वा मंसीरमा गर्ने चर्चा चुलिएको बेला उच्चस्तरीय राजनीतिक समितिको संयोजक समेत रहेका प्रचण्डले अध्यक्ष रेग्मीलाई भेटेका हुन्।

उपलब्धी?

भेटको उपलब्धी के रह्यो भन्ने प्रश्नको जवाफमा एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले भने, “चुनावको मितिको बारेमा कुरा भयो, तर चुनाव त अब असारमा संभव छैन भन्नेमा लगभग सबै दल सहमत भइसके।”

मन्त्रिपरिषदका अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमका अनुसार प्रचण्डसंगको भेटमा रेग्मीले चुनाव सम्वन्धी अध्यादेशहरु आइसकेको अवस्थामा चुनावको मिति घोषणा गर्नको निम्ति उपयुक्त वातावरण बनाउन सबै दलहरुको सहयोग अत्यावश्यक रहेकोमा जोड दिएका थिए।

साताव्यापी चीन भ्रमणमा जानु एक दिनअघि प्रचण्डले रेग्मीलाई भेटेका हुन्।

सापकोटाले भने, “चीन भ्रमणका बारेमा पनि प्रचण्डले उहाँलाई जानकारी गराउनु भयो।”

प्रचण्ड चीनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको उनले बताए।

चीनबाट फर्किएपछि उनको भारत भ्रमण गर्ने कार्यक्रम रहेको सापकोटाको भनाइ छ।