उच्च समितिमा नबस्ने वैद्यको जवाफ

  • 18 एप्रिल 2013
मोहन वैद्य
Image caption मोहन वैद्यको पार्टीले अन्य साना दलसँग मोर्चाबन्दी गर्दै चुनाव हुन नदिने चेतावनी दिइरहेको छ

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफूहरुलाई उच्च राजनीतिक समितिमा बस्न अपिल गरेको बताएका छन्।

सरकार पक्षीय दलहरु सम्मिलित समितिको नेतृत्व सम्हालेका कोइराला सरकार विघट्नको मागको पक्षमा चलाइएको आन्दोलनको नेतृत्व गरिरहेका नेता वैद्यलाई भेट्न उनकै निवास पुगेका थिए।

तर वैद्यले कोइरालाको उक्त आग्रह आफूले अस्वीकार गरिदिएको बताए।

उनले भने, "उहाँहरुले हामी प्रयास गर्छौ, समितिमा आउनुस भन्नुभयो। हामीले समितिमा पनि बस्दैनौं र त्योसँग वार्ता पनि गर्दैनौं भन्ने जवाफ दियौं।"

फरक हैसियत

उच्चस्तरीय समितिको अध्यक्षता पालैपालो गर्ने निर्णय अनुसार प्रचण्डपछि कोइरालाको काँधमा त्यो जिम्मेवारी पुगेको छ।

तर समिति र सरकार दुवैसँग कुरा नगर्ने निर्णय गरेको नेकपा-माओवादीका अध्यक्ष वैद्यको दैलोमा कोइराला कांग्रेस सभापतिको हैसियतमा भलाकुसारी गर्न पुगेका थिए।

गैरदलीय सरकार र त्यो गठन गर्न जारी गरिएको बाधा अड्काउ फुकाउ जस्ता आदेश र सहमति खारेज गर्ने हैसियत समिति वा सरकारमा नभएको भन्दै उक्त दलले उनीहरुसँग वार्ताको ढोका बन्द गरिएको जनाएको छ।

वार्तामा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले त्यस्ता असहमती वार्ताकै टेबुलमा राख्न आफूहरुले आग्रह गरेको जानकारी दिए।

त्यसको अर्थ, कांग्रेस चुनाव गराउने सर्तमा सरकार परिवर्तनबारे वार्ता गर्न तयार भएको हो कि भन्ने प्रशनमा उनले प्रतिप्रश्न गरे, "कुरा त जसले जे पनि गर्न पाउँछ नि। मंसिरमै चुनाव गराउने हो तर सरकार फेरेर त्यो सम्भव छ?"

त्यसरी चुनावमा तान्न खोजिएको नेकपा माओवादीले सरकारलाई असंवैधानिक र बाधा अड्काउ फुकाउ आदेशलाई प्रतिगमनको संज्ञा दिएको छ।

अहिलेकै स्थितिमा चुनावमा नजाने र हुन पनि नदिने उसको अडान छ।

बहिष्कार

तर कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन्, "अहिले धेरै अप्रिय कुरा नगरौ, यतिबेला देश चुनाव चाहन्छ, जनता चुनावको पक्षमा छन्, अनि निर्वाचनमा नजाँदा उहाँहरुले चुनाव बहिष्कार गरेको हुन्छ कि चुनावले उहाँहरुलाई बहिष्कार गर्छ त्यो कुरा उहाँहरुले नै बुझ्ने कुरा हो।"

दुबै पक्षबीच असहमतिको खाल्डो गहिरो देखिन्छ।

तर कोइराला-वैद्यबीचको सम्वादले सत्ता र विपक्षी दलबीच कुराकानीको बाटो केही खुकुलो पार्न सहयोग गर्ने ठानिएको छ।