बस्टन बम हमलाका सन्दिग्ध आरोपितको खोजी तीव्र

  • 19 एप्रिल 2013
बस्टनका प्रहरी सुरक्षा कारवाहीमा
Image caption बस्टनका प्रहरीले एक सन्दिग्ध बम आक्रमणकारी लुकेको आशंका गरिएको एउटा भवनलाई घेरेका छन्

अमेरिकाको बस्टन शहरमा यसै साता भएका बमहमलाका एक सन्दिग्ध आरोपितको खोजी तीव्र पारिएपछि प्रहरीले शहरवासीलाई घरभित्रै बस्न भनेको छ।

सोमबार बोस्टन म्याराथनको अन्तिम रेखा नजिकै बमहमलामा संग्लग्न ठानिएका १९ वर्षिय झोखार सारानाएभको खोजी प्रहरीले शुक्रवार स्थानीय समय अनुसार दिउँसो पनि जारी राखेको थियो।

सारानाएभका भाई तामेरलान सारानाएभ त्यसअघि शुक्रवार नै भएको प्रहरी कारवाहीमा मारिएका थिए।

सो कारवाहीमा तामेरलानमाथि गोली चलाइएपछि हतियारधारी झोखार सारानाएभ एउटा जबर्जस्ती कब्जामा लिइएको कारमा भागेका बताइएको छ।

उनको खोजि शुरु गरेपछि प्रहरीले सबै बोस्टन शहरबासीलाई ढोकालगाएर घरभित्रै बस्न अनुरोध गरेको थियो।

सोमबार बोस्टनमा आयोजना गरिएको म्याराथनको अन्मिम रेखा नजिकै दुई वटा विष‍्फोटनमा परि तीन जनाको मृत्यु भएको थियो भने १७० जना घाइते भएका थिए।

प्रहरीले पछि प्रेसर कुकर बमको प्रयोग भएको बताएको थियो।

अनुसन्धानपछि प्रहरीले सेतो र कालो बेसबल क्याप लगाएका दुई युवाहरूको तस्विर सार्वजनिक गरेको थियो।

'चेचेन मुलबासी'

ती दुवै दाजु भाइ रुशको चेचेन क्षेत्रका मुलबासी भएका र १० वर्ष अघि अमेरीका आएको बताइएको छ।

म्यासाचूसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीको क्याम्पसमा एक प्रहरी अधिकृत माथि गोलि हान्ने बित्तिक्कै प्रहरीले तीनको खोजी थालेको थियो।

लगत्तै ती दुईले एक जना कार ड्राइभरलाई बन्दुक सोझ्याउँदै ती ड्राइभर सहित कारमा भागेका थिए।

पछि ती व्यक्तीलाई ती दुईले सकुशलै छाडिदिएका थिए।

लखेट्दै गरेका प्रहरीलाई लक्षित गरि तीनले बम तथा गोली हानेपछि एक जना अधिकृत गम्भीर घाइते भएका थिए।

'खतरनाक हतियारधारी'

एक प्रहरी अधिकृतले भागिरहेका व्यक्ति खतरनाक हतियारधारी भएको बताए।

बस्टनका प्रहरी प्रमुख एड डेभिसले सो शहरको वाटरटाउन खण्डमा खोजी गरिएको ती मानिस 'आतंककारी' भएको बताए।

उनले भने, 'हामीलाई लागेको छ त्यो व्यक्ती यहाँ मानिसहरू मार्न आएको हो।'

झोखार सारानाएभका पिताले उनका छोरा अमेरिकामा चिकित्साशास्त्रका विद्यार्थी भएका र केही समयमा उनी चिकित्सक बन्ने आशा आफूहरूले बोक्दै आएको बताए।

बीबीसीका उत्तर अमेरिका सम्पादक मार्क मार्डेल भन्छन्, बस्टनमा भएको सो बम आक्रमणबाट अमेरिका तर्सेको त छैन तर आफ्ना सबैभन्दा पुराना शहरहरू मध्योको एकलाई त्रासका कारण त्यसरी बन्द गर्नु परेकोले त्यसको सो देशमा ठूलो प्रभाव पर्न सक्छ।