मे दिवसमा चुनावी भाषण

  • 1 मे 2013

मंसिरमा हुने भनिएको चुनावको मिति निश्चित भइसकेको छैन, तर विभिन्न दलका नेताहरुले बुधबार मे दिवसको अवसरमा आयोजित सार्वजनिक सभाहरुमा बोल्दै चुनावी प्रचारप्रसारमा उत्रिएको झल्को दिएका छन्।

Image caption मे दिवसको अवसर पारेर प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई चुनावको निम्ति तयार हुन भनेका हुन्

पूर्वको झापा, मोरङ र सुनसरीमा आयोजित भिन्नाभिन्नै कार्यक्रमहरुमा नेकपा एमाले र एकीकृत माओवादीका नेताहरु भाषणबाजीमा व्यस्त देखिए।

चुनावको विरोध गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका नेताहरु पनि आफ्नो भेलामा व्यस्त थिए।

इटहरीमा आयोजित एउटा सभामा मंगलबार मात्रै दिल्लीबाट फर्किएका एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र उनको दलका एक उपाध्यक्ष बाबुराम भट्टराई संगै देखापरेका थिए।

त्याहाँ बोल्दै उनीहरुले आगामी चुनावमा आफ्नो पार्टीलाई सघाउन आह्वान गरे।

‘नयाँ नेपाल’

मे दिवस पनि भनिने अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा इटहरीमा आयोजित एक सभामा बोल्दै प्रचण्डले आफ्नो दल नयाँ नेपाल बनाउन प्रतिबद्ध रहेको बताए।

विपक्षी दलहरुको आलोचना गर्दै उनले नेपालमा संघीयता, धर्म निरपेक्षता जस्ता विषयलाई राष्ट्रिय मुद्दा बनाउनुको श्रेय आफ्नै दललाई दिने प्रयास गरेका थिए।

आगामी चुनावबारे अन्यौल कायमै रहेको भएपनि उनले घुमाउरो शैलीमा चुनावमा आफ्नो दललाई सहयोग गर्न अनुरोध गरेका थिए।

उनले भने,“मलाई तपाइहरुको सहयोग चाहिन्छ, नयाँ नेपाल बन्छ।”

ठूला दलहरुले चुनावी अभियान शुरु भएको संकेत गरिरहदा ३३ वटा साना दलहरु भने निर्वाचन प्रक्रियाको विरोधमा छन्।

आरोप

तर प्रचण्डले, उनकै शब्दमा, परिवर्तन नचाहनेहरुले चुनावको विरोधमा षडयन्त्र गरिरहेको आरोप लगाए।

त्यसैगरी सोही आमसभालाइ सम्वोधन गर्न आइपुगेका माओवादीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले दश वर्षसम्म शासन सत्ता चलाउने अवसर आफ्नो दललाई दिए देशबाट गरीबीको अन्त्य हुने दावी गरे।

सुनसरी नजिकै आयोजित अन्य सभाहरुमा बोल्ने नेकपा एमाले र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका नेताहरुले भने एकीकृत माओवादीको चर्को आलोचना गरेका थिए।