फुटबलको खेलमा क्लबहरुको हार?

  • 3 मे 2013
एनआरटि क्लब
Image caption एनआरटि क्लबले आम्दानी अपुग भएकाले फुटबलबाट केही समय सन्यास लिने जनाएको छ

नेपालको सबैभन्दा पुरानो र धनी क्लव मानिने न्युरोड टिम (एनआरटि)ले आर्थिक अभाव देखाउदैं केही समय फुटबल मैदानै नटेक्ने निर्णय गरेपछि नेपाली क्लबहरुको कमजोर आर्थिक अवस्था छताछुल्ल भएको हो।

विशेषतः ए डिभिजन क्लबहरुको आम्दानीको तुलनामा खर्च निकै धेरै भएपछि उनीहरु फुटबल नै नखेल्ने जस्तो अप्रिय निर्णय गर्न वाध्य भएको देखिएको छ।

अन्योल

एनआरटिले केही समय नखेल्ने निर्णय गरिसकेको छ भने अन्य कतिपय क्लबहरु खेल्ने कि नखेल्ने अन्योलमा छन्।

यसपालीको लिगमा थ्रीस्टार क्लबले प्रथम स्थान हासील गर्दा उसका प्रशंसकका अतिरिक्त उसलाई ऋणदिनेहरु उत्तिकै खुशी भए - विजेताले पाउने ठूलो धनराशीबाट आफ्नो ऋण तिरिने आशमा।

वर्षको एक करोड रुपियाँ भन्दा बढी आम्दानीको स्रोत भएको नेपालको एक मात्र क्लब एनआरटिले विशेष साधारण सभाको बहुमतको विचार लिएरै फुटबल छोडने निर्णय गरेको थियो।

क्लबका महासचिव विनय सिंह प्रधान बढ्दो व्यावसायिकरणलाई कृत्रिम बताउँछन्।

“फुटबल खेल्दा आम्दानी छैन। यही नै ठूलो समस्या हो। एक सिजन क्लब हांक्न ५० लाख देखि १ करोड रुपियाँसम्म खर्च हुन्छ। तर आम्दानी १० लाख रुपियाँपनि हुंदैन। यसरी कति दिन क्लब अड्न सक्छ?” प्रधानको प्रश्न थियो।

संरचना

व्यावसायिक आम्दानी नभई सामाजिक सेवा गर्ने प्रकृतिको संरचना भएका हाल १४ वटा फुटबल क्लब काठमाण्डौं भित्रै सञ्चालनमा छन्।

तिनीहरुले अखिल नेपाल फुटबल संघ एन्फाले संचालन गर्ने तीन महिने शहिद स्मारक लिग तथा दुई, तीनवटा नकआउट प्रतियोगिता खेल्छन्।

यसका लागि क्लबहरुले बाह्रै महिना खेलाडीहरु पाल्नुपर्ने प्रावधान छ। जबकी क्लबहरुका अगाडि राष्ट्रिय लिग सहित वर्षमा मुश्किलले ४ महिना खेल्ने प्रतियोगिता पनि छैनन्।

फुटबल बजारमा खेलाडीहरुको भाउ प्रतिवर्ष ४० देखि ८० हजार रुपियाँसम्म पुग्नु र उनीहरुलाई फुटबल नखेलाईकन पारिश्रमिक दिनुपर्ने वाध्यता हुनु पहिलो अप्ठेरो भएको क्लब पदाधिकारीहले गुनासो गर्दे आएका छन्।

जावलाखेल युथ क्लबका अध्यक्ष सुनील राणा भन्छन्, “हामीले लिग र दुईवटा नकआउट प्रतियोगिताबाहेक वर्षमा खेल्ने कुनै प्रतियोगिता छैन। जिल्लामा हुने ठूला प्रतियोगितामा दुई, चारवटा ठूला क्लबहरुलाईमात्र निम्तो आउँछ, अरु क्लबहरुले चाहेर पनि खेल्न पाउँदैनन्।”

आर्थिक स्रोत

ए डिभिजन लिग प्रतियोगितामा यसवर्ष कम्तीमा १५ करोड रुपियाँको कारोवार भएको अधिकारीहरुको भनाई छ।

अन्य खेलकूदको दांजोमा फुटबलको यो रौनक आफैंमा माथि देखिन्छ। यसमा प्रत्येक क्लबको कम्तीमा ५० लाखको योगदान रहेको ठानिन्छ।

तर ए डिभिजनका केही नाम चलेका क्लबहरु एनआरटि, आरसीटि, फ्रेन्ड्स, तथा जावलाखेल युथको मात्र आम्दानीका स्थायी स्रोत छन्।

ती बाहेक यो वर्ष लिग च्याम्पियन बनेको थ्री स्टार क्लब, उपविजेता मनाङ मर्स्याङदी क्लब सहितका क्लबहरुसंग प्रायोजन, आर्थिक चन्दा, टिकट विक्री र पुरस्कार बाहेकको निश्चित स्रोत देखिंदैन।

उपाय

विदेशी फुटबलमा जस्तै टेलिभिजनमा प्रसारण गरेवापत आम्दानीको बाँडफाँड, आफ्नै मैदानको टिकट आम्दानी वा जर्सी विक्रीबाट यथेस्ट कमाई हुने बेला आइसकेको छैन।

Image caption लिग विजेता थ्री स्टार क्लबसमेत आर्थिक कठिनाईमा परेको थियो

तर उपलब्ध प्रायोजक र रहरलाग्दा दर्शकहरुले खर्च गर्ने पैसाको पहिलो उपभोक्ता क्लब हुन सके फुटबलको मेरुदण्ड जोगिन सक्ने कतिपयको भनाई छ।

“चन्दाको भरमा चल्ने क्लबहरुलाई व्यावसायिक ढांचामा ढाल्ने काम पनि एन्फाकै हो। क्लब लाइसेन्सिङ प्रणालीको अवधारणा प्राय विदेशी क्लबहरुमा अनिवार्य भइसकेको बेला नेपाली क्लबहरुलाई त्यस्तै शैलीमा ढाल्नु जरुरी छ,” संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताउंछन्।

त्यस्तो प्रणाली भएको खण्डमा क्लबहरुको सञ्चालन शैलीमा व्यावसायिकरण अनिवार्य हुन्छ तथा उनीहरुको आर्थिक सुरक्षाको जिम्मा एन्फामाथिपनि पर्छ।

एन्फा भने मोटरसाईकल, कार, अपार्टमेन्ट, ठूला पुरस्कार र खेलाडीहरुको तलव जस्ता विषयमा मात्र केन्द्रित भएको क्लबहरुको आरोप छ।

तर एन्फाका महासचिव धिरेन्द्र प्रधान भन्छन्, “आफ्नो बुताले भ्याएसम्म एन्फाले क्लबहरुलाई सहयोग गर्दै आएको छ। हामी क्लबहरुको समस्या समाधान गर्न गम्भीर छौं। रंगशालामा उठ्ने टिकट विक्रि रकम क्लबहरुलाई बाँड्ने हाम्रो नीति त्यसैको एउटा उदाहरण हो।”

आलोचकहरु भन्छन् एन्फाले अहिलेकै शैली र संरचनामा अगाडि वढेर क्लबलाई मात्र खेलाडीको महंगो तलवको वोझ बोकाउने हो भने, क्लव फुटबल धरासायी हुन सक्छ।

कमसेकम एनआरटिको पछिल्लो निर्णयले त्यही संकेत गर्ने उनीहरुको ठम्याई छ।