नेपाल बन्द फिर्ता लिने कार्यको स्वागत

  • 12 मे 2013
अख्तियार प्रमुखको सपथ
Image caption नियुक्तीको विरोध गर्न बन्द गर्दा जनसाधारणलाई मर्का पर्ने भन्दै चर्को आलोचना भएको थियो

तराईका केही जिल्लामा स्थानिय तहमा गरिएका बन्द जारी रहे पनि लगातार दुई दिन राखिएका नेपाल बन्द चर्को आलोचनाको निशानामा परेपछि आयोजकहरुले फिर्ता लिएका छन्।

आइतवारको नेपाल बन्द विद्यार्थी संगठनहरुले फिर्ता लिएपछि नेकपा-माओवादी सहितका दलहरुले पनि त्यस्तै निर्णय लिएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्त गरिएको विरोधमा उनीहरुले नेपाल बन्द घोषणा गरेका थिए।

विवेकपूर्ण

सामाजिक क्षेत्रका अगुवाले बन्द आव्हानकर्ताको निर्णय 'जनभावना अनुकूल' भएको टिप्पणी गरेका छन्।

कतिपयले समाजिक संजालमा बन्द फिर्ता गर्नेहरुप्रति आभार प्रकट गर्दै उनीहरुलाई धन्यवाद दिएका छन्।

नागरिक अगुवा वीरेन्द्र मिश्रले बन्दकर्ता पछाडी फर्किनुको दुईवटा कारण रहेको ठानेका छन्, "पहिलो संचार क्षेत्रको आलोचना र दोश्रो- प्रत्येक मानिस विवेकशील प्राणी भएकाले बन्दले जनतामा पार्ने सकारात्मकभन्दा नकारात्मक प्रभावलाई ख्याल गरेर त्यस्तो निर्णय लिइएको हुनुपर्छ।"

उनले बन्द फिर्ता र स्थगनको निर्णयलाई विवेकपूर्ण ठानेका छन्।

विद्यार्थीहरुले शनिवार बन्द फिर्ता लिने निर्णय लिएपछि राजधानी दैनिकले 'विद्यार्थीहरुबाट सिकौं' शीर्षकको सम्पादकीयमा लेख्यो, "यो निर्णय स्वागत योग्य मात्र नभएर दूरगामी महत्वको पनि छ।"

सजाय

उक्त दैनिककमा सम्पादक राजन शर्माको बुझाईमा जनताले सजाय दिने डरले उनीहरुलाई पछाडि धकेलेको हो।

उनी भन्छन्, "जनता बन्दको विपक्षमा रहेको त बन्दकर्ताले पहिले पनि नबुझेका होइनन्, उसबेला तत्कालीन हित हेर्थे, अब सायद दूरगामी असर हेर्न थालेर वा कुनै बेला जनताको पालो आउँछ र एक ढंगको सजाय दिन्छन् भनेर फिर्ता लिइएको हुनसक्छ।"

तर नेकपा माओवादीका सचिव देव गुरुङ बन्द सदाको निम्ति त्याग्न नसकिने बताउँछन्।

उनले भने, "आन्दोलनको एउटा रुप भएकाले बन्द सदाको निम्ति त्यागेको होइन्, खासगरी नेवार समूदायको पर्व परेकाले बन्द फिर्ता लिइएको हो।"

एक दिन नेपाल बन्द हुँदा मुलुकलाई करिव डेढ अर्व रुपियाँको नोक्सानी हुने गरेको बताइन्छ।

त्यसैले बन्द विरोधी आवाज यसअघि पनि धेरै पटक उठ्ने गरेका थिए।