विपक्षीका निम्ति सर्वदलीय बैठक गर्न तयार: सरकार

  • 18 मे 2013
Image caption सरकारले विपक्षी मोर्चाको माग संबोधन गर्न सर्वदलीय बैठकको संयोजनका लागि तयार रहेको बताएको छ

राजनीतिक समस्या समाधानका लागि विपक्षी मोर्चाले राख्दै आएको सर्वदलीय गोलमेच सम्मेलनको मागसँग मिल्दोजुल्दो हुने गरी सर्वदलीय बैठकको आयोजना गर्न सरकार तयार रहेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री माधव पौडेलले बताएका छन् ।

चुनाव गर्नकै लागि भनेर दुइ महिना अघि बनाइएको प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको गैर दलीय सरकारलाई अवैधानिक भन्दै त्यसको खारेजीको माग गर्दै आएको नेकपा माओवादीका अध्यक्ष किरण बैद्य नेतृत्वको विपक्षी मोर्चा र सरकारबीच निरन्तर औपचारिक सम्पर्क कायम रहेको दुवै पक्षले बताएका छन्।

सरकारले बैद्य नेतृत्वको विपक्षी मोर्चालाई वार्ताका लागि पत्राचार र पटक पटक सार्वजनिक आह्वान गरेपनि औपचारिक वार्ता हुन सकेको छैन।

सम्पर्क

सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री माधव पौडेलले विपक्षी मोर्चाले माग गरे झैं सर्वदलीय बैठको संयोजन गर्न सरकार तयार रहेको बताए।

उनले भने, "हामी विरोधमा रहेका दलसँग निरन्तर संम्पर्कमा छौं। वार्तामा बसेपछि सर्वदलीय बैठक गर्न पनि तयार छौं।"

सर्वदलीय बैठकले निर्णय गरे आफुहरु सरकार छोड्न तयार रहेको पनि प्रवक्ता पौडेलले बताए।

विपक्षी मोर्चाले भने यथास्थितिमा वार्ता नहुने निर्णय शनिबार पनि दोहोर्‍याएको छ।

संकेत

तर उसले सरकारसँग वार्तामा बस्न सकिने संकेत भने गरेको छ ।

नेकपा माओवादीका एकजना नेता हरिभक्त कँडेलले भने, "हामी सरकारसँग अनौपचारिक संपर्कमा छौं। यथास्थितिमा वार्ता हुँदैन। निर्वाचनका लागि अगाडि बढाइएका सबै कुरा स्थगित राखेर वार्ताका लागि आउनुपर्छ।"

चार राजनीतिक दलहरुले वर्तमान सरकार बनाउन गरेको ११ बुँदे सहमति, त्यसका लागि गरिएको २५ बुँदे बाधा अडकाउ फुकाउ आदेश,त्यस अन्तर्गत बनेको सरकार र सरकारले गरेका विभिन्न निर्णय खारेजीको माग गर्दै आएको विपक्षी मोर्चालाई निर्वाचनमा सहभागी बन्न अन्तर्राष्ट्रिय समुदायले पनि आह्वान गर्दै आएको छ।

चार दलका शीर्ष नेता संलग्न उच्चस्तरीय राजनीतिक समितिले पनि विपक्षी मोर्चालाई लक्षित गर्दै अबका केही दिन भित्रै उनीहरुसँग वार्ता शुरु गरिने जनाएको छ।