ब्रिटिश आरोहीको भिडिओ कलबारे अनुसन्धान शुरु

  • 20 मे 2013
ब्रिटिश आरोही ह्युज
Image caption सगरमाथाको शिखरबाट ब्रिटिश आरोहीले गरेको भिडिओ कलबारे नेपाल सरकारले अनुसन्धान थालेको छ

ब्रिटिश पर्वतारोही ड्यानियल ह्युजले भिडिओ कल गरेर बीबीसी वर्ल्ड टेलिभिजनसंग प्रत्यक्ष कुराकानी गरेको विषयमा विवाद बढेपछि नेपाल सरकारले त्यसबारे अनुसन्धान थालेको अधिकारीहरुले बताएका छन्।

ह्युजले भिडिओ कल गर्नको निम्ति नेपाल सरकारबाट अनुमति नै नलिएको पाइएको अधिकारीहरुले जनाएका छन्।

अनुसन्धानका क्रममा दोषी पाइए उनीविरुद्ध नेपाल प्रवेश निषेध सम्मको कारवाही हुनसक्ने कानुनी व्यवस्था रहेको अधिकारीहरुको भनाइ छ।

सगरमाथाको शिखर चुम्ने बित्तिकै मुखमा अक्सिजन मास्क र रातो बाक्लो पर्वतारोहण पोशाक लगाएका ह्युजले आइतबार बिहान आफुले पहिलो पटक भिडिओ कलमार्फत प्रत्यक्ष कुराकानी गर्न सफल भएको बीबीसी टेलिभिजनलाई बताएका थिए।

प्रत्यक्ष कुराकानी

उनले भनेका थिए, “यो यसकारणले पनि विशेष हो किनभने तपाईले देख्न सक्नुहुन्छ, यो सबैभन्दा अग्लो स्थानबाट गरिएको भिडिओ कल हो, यस्तो यसअघि कहिल्यै गरिएको छैन।”

एक परोपकारी संस्थाको लागि १० लाख स्टर्लिङ पाउन्ड अर्थात १३ करोड रुपैंया भन्दा बढी जुटाउने अभियानमा रहेका पर्वतारोही ह्युजको स्मार्टफोन मार्फत गरिएको बताइएको भिडिओ कलले टेलिभिजन हेर्ने दर्शकहरुलाई मुग्ध त तुल्यायो होला, तर त्यो खबरले नेपालमा भने विवाद निम्त्याएको छ।

पर्यटन मन्त्रालयको पर्वतारोहण महाशाखाका प्रमुख पूर्णचन्द्र भट्टराईका अनुसार ह्युज सहभागी टोलीले सगरमाथाको शिखरबाट भिडिओ कल गर्ने अनुमति लिएको पाइएन।

“अनुमति नै नलिइ त्यसरी भिडिओ कल गरेको थाहा भएको छ, त्यसबारे अनुसन्धान शुरु गरेका छौं,” भट्टराईले भने।

‘सोधपुछ’

सगरमाथा जानुअघि दिइएको अनुमित पत्रमा गर्न हुने र नहुने काम स्पष्ट संग लेखिएको हुँदा त्यसबारे त्यो ब्रिटिश टोली फर्किने बित्तिकै सोधपुछ गरिने भट्टराईले बताए।

संचार उपकरणहरु सगरमाथा लैजानुअघि संचार मन्त्रालयसंग अनुमति लिनु पर्ने प्रावधान छ।

तर संचार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद सन्जलले ह्युजको टोलीले त्यस्तो नगरेको बताए।

उनले भने, “हामीले पत्रकारहरुलाई समाचार पठाउन उपकरण लैजान अनुमति दिएका छौं, तर यो ब्रिटिश टोलीले अनुमति लिएको पाइएन।”

कुनै विदेशी पर्वतारोहीले नियम कानुन विपरित काम गरेको पाइएमा दोषीलाई १० वर्षसम्म पर्वतारोहणबाट प्रतिबन्ध लगाउन सकिने वा ५ वर्षसम्म नेपाल प्रवेश गर्नबाट निषेध गर्न सकिने प्रावधानहरु पर्यटन ऐन २०३५ मा छन्।

तर सगरमाथामा अनौठा कीर्तिमान रच्ने होडबाजीमा थुप्रै विवादास्पद घटनाहरु हुने क्रम रोकिएको छैन।