राप्रपा, राजपा एकताको महाधिवेशन समापन

  • 21 मे 2013
Image caption राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच फुटेको करिब दश वर्षपछि पुन: एकीकरण भएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी फुटेको करिब दश वर्ष पछि एकीकरण भएको छ।

एकीकृत पार्टीको नाम फुट्नु भन्दा अघिकै: राष्ट्रिय प्रजातन्त्र पार्टी राखिएको छ।

चुनाव चिन्ह पहिलेकै: हलो राखिएको छ र पार्टीको झण्डा पनि पुरानै चयन गरिएको छ।

दुइ पार्टीबाट जोडेर नयाँ नाम बनाउने प्रयत्न भने सफल नभएको बताइएको छ।

महाधिवेशन आयोजक समितिका सह संयोजक किरण गिरि भन्छन्, "चार चार वटा संसदीय निर्वाचनमा लडेको र जनतामा भिजिसकेको नाम भएर पुरानैमा जाने निर्णय महाधिवेशनले गर्‍यो।"

पार्टीको अध्यक्ष बनेका छन् ८६ वर्ष पुरा भएका सूर्यबहादुर थापा।

सामुहिक नेतृत्व

तर जेठ ३ गते महाधिवेशन शुरु गरेर मंगलबार समापन गरिएको पार्टीमा सामुहिक नेतृत्व भन्दै अध्यक्ष सहित बरिष्ठ नेताहरु पशुपति समशेर राणा, लोकेन्द्र बहादुर चन्द र प्रकाशचन्द्र लोहनी सम्मिलित चार सदस्यीय उच्चस्तरीय कार्य सम्पादन समितिको व्यवस्था भने नयाँ बनाइएको छ।

फुटेका दलहरु पहिले केन्द्रमा एकीकृत हुने र क्रमश: जिल्लादेखि गाउँका समानान्तर कमिटीहरु भंग गरेर एउटा बनाउने चलनको विपरित राष्ट्रिय प्रजातन्त्र पार्टी र जनशक्ति पार्टीका स्थानीय र जिल्ला तहका कमिटीहरु पहिले मिलाइएका थिए।

अन्त्यमा एकताको महाधिवेशन गरिएको थियो।

जेठ ३ गतेदेखि सुरु भएको महाधिवेशनमा सोमबार केन्द्रिय समितिका लागि मतदान भएको थियो।

निर्वाचित र मनोनित गरी १०७ सदस्यीय केन्द्रीय समिति बन्ने गिरी बताउँछन्।

एकीकृत पार्टीका अधिकांश बरिष्ठ नेताहरु निर्दलीय पन्चायती शासनकालमा राजतन्त्रात्मक र हिन्दु अधिराज्यको पृष्ठभूमीमा राजनीतिक जीवन शुरु गरेका व्यक्तिहरु हुन्।

अल्पमत

तर राजतन्त्र र हिन्दु अधिराज्यको नीति उक्त पार्टीभित्र अल्पमतमा पर्दै आएको छ।

एकताको महाधिवेशनमा नेतृत्व चयन देखि नीतिगत कुरामा असन्तुष्टी व्यक्त गर्दै अल्पमतको प्रतिनिधित्व गरेका नेता राजेश्वर देवकोटा भन्छन्, "राजतन्त्रको ढोका बन्द नगरौं, हिन्दु अधिराज्य पनि कसैले पास गरेर फालेको होइन भनेको थिएँ तर मेरो कुरा कसैले सुनेन।"

उनी अध्यक्ष लगायत बरिष्ठ नेताहरु सबै चुनाव मार्फत चयन हुनुपर्ने धारणा राखेको बताउँछन्।

अझै पनि हिन्दु अधिराज्य र संबैधानिक राजतन्त्र मान्ने एउटा फ्याक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको नाममा राजनीति गरिरहेको छ।

नयाँ धार

र अर्को फ्याक भने २०६२/६३को आन्दोलन पछि नेपालमा चलेको संघीय लोकतान्त्रिक गणतन्त्रको धारमा बहेको छ।

एकताको महाधिवेशन पछि पनि उनीहरुले नयाँ वहाव नै रोजेका छन्।

संभवत त्यसकै प्रतिफल हुनसक्छ उनीहरुले कम्युनिष्ट शैलीको शक्तिशाली चार सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति समेत बनाएका छन्।