संविधानसभा सदस्य संख्याबारेको विवाद लम्बिने संकेत

  • 22 मे 2013
सुशील कोइराला र झलनाथ खनाल
Image caption कांग्रेस र एमालेको अडानबाट एकीकृत माओवादी चाहिं चिढिएको देखिन्छ

नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको बुधबारको बैठकले संविधानसभाको सदस्य संख्या ४९१ र समानुपातिक चुनावको निम्ति थ्रेसहोल्ड्को व्यवस्था राख्नु पर्ने अडान दोहोर्‍याएका छन्।

तर फरक अडान राखिरहेको एकीकृत माओवादीका एक नेताले कांग्रेस र एमालेको अडानले सहमति हुन नसक्ने बताए।

संविधानसभाको दोस्रो चुनावको मिति त परैको कुरा चुनावबाट जम्मा कति जना छान्ने लगायतका विषयमा दलहरुबीच गम्भीर मतभेद जारी रहेको बेला बुधबारको कांग्रेस र एमालेका नेताहरुको बैठकले संख्याबारेको विवाद छिट्टै हल हुने कुनै संकेत दिएन।

बैठकमा दुबै दल प्रमुख राजनीतिक शक्तिहरुबीच भएका सहमतिका बुँदामा उल्लेख भएझैं संविधानसभा सदस्य संख्या ४९१ रहने र समानुपातिकतर्फ निर्वाचित हुन आवश्यक न्यूनतम मतसंख्या अर्थात थ्रेसहोल्ड्को व्यवस्था राख्नु पर्नेमा एकमत भएको बैठकपछि नेताहरुले संवाददाताहरुलाई बताए।

‘एकमत’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिमा हेरफेर हुन नहुने बताए।

“दलहरुबीच भएका सहमति विपरित जान खोजियो भने संविधानसभाको चुनाव हुन सक्दैन।”

अडानबारे प्रस्ट्याउँदै एमालेका नेता रघुजी पन्तले भने, “थ्रेसहोल्ड कायमै रहने र ४९१को संख्या जनभावना अनुसारको भएकोले त्यसलाई कायमै राख्ने सहमति भयो।”

कांग्रेस एमालेको अडानको ठीक विपरित एकीकृत माओवादी र अन्य केही दलहरुले संविधानसभा सदस्य संख्या पुरानै अर्थात ६०१ राख्नु पर्ने अडान राखिरहेका छन्।

एकीकृत माओवादीका महासचिव पोस्टबहादुर बोगटीले कांग्रेस र एमाले व्यावहारिक नभएको बताए।

‘व्यावहारिक’

बोगटीले भने, “४९१ ले सबैलाई समेट्न सकिन्छ कि सकिन्न व्यावहारिक ढंगले हेर्न जरुरी छ। कांग्रेस र एमालेले बाहिर एउटा र भित्र अर्कै कुरा गरिराख्या हो कि भन्ने प्रश्न उठ्न थालेको छ।”

कांग्रेस र एमालेको बैठकले मोहन वैद्य नेतृत्वको नेकपा माओवादी लगायतका असन्तुष्ट दलहरुलाई मनाउंदै ती दलहरुलाई उच्चस्तरीय राजनीतिक समितिमा प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिएको नेताहरुको भनाइ छ।

तर एकीकृत माओवादीका महासचिव बोगटीले सबभन्दा पहिला दलहरुबीचका राजनीतिक असहमतिहरुको हल हुनु पर्नेमा जोड दिए।