चुनाव मिति बुधबार घोषणा हुने प्रबल सम्भावना: प्रचण्ड

  • 28 मे 2013
एमाओवादी अध्यक्ष प्रचण्ड
Image caption प्रचण्डले चुनावी मन्त्रिपरिषदले मिति घोषणामा ढिलाइ गरेको भन्ने शंका नगर्न भनेका छन्

गणतन्त्र दिवसको अवसर पारेर बुधबार सरकारले चुनावको मिति घोषणा गर्ने प्रबल सम्भावना रहेको एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बताएका छन्।

मंगलबार बिहान अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसंग भेटेपछि रिपोर्टर्स क्लबको आयोजनामा भएको पत्रकार भेटघाटका दौरान प्रचण्डले गणतन्त्र दिवसका दिन चुनावको मिति घोषणा हुने सम्भावना रहेको बताए।

“भोलि गणतन्त्र दिवस। गणतन्त्र दिवसकै दिन निर्वाचनको मिति घोषणा हुने पुरै सम्भावना छ। भोलि बिहानै हामी उच्चस्तरीय राजनीतिक समितिको बैठकपनि बस्दैछौं,” उनले भने।

आशंका कायमै

तर चुनावसम्बन्धी केही कानुनमा दलहरुबीच रहेको विमति बाँकी नै रहेका कारण बुधबार नै मिति घोषणा हुनेमा आशंका कायम नै छ।

खासगरी निर्वाचन आयोगद्वारा प्रस्तावित संविधानसभा सदस्य निर्वाचन ऐनलाई संशोधन गर्ने अध्यादेशमा रहेका केही प्रावधानहरुबारे मुख्य दलहरुले परस्पर विरोधी धारणा राखेपछि मिति घोषणा अन्योलमा परेको सरकारले जनाएको थियो।

संविधानसभा सदस्य संख्या ६०१ राख्ने वा घटाउने र समानुपातिकतर्फ निर्वाचित हुन न्यूनतम मतसंख्या अर्थात थ्रेसहोल्डको व्यवस्था राख्ने कि नराख्ने जस्ता विषयमा दलहरुबीच सहमति बनेको छैन।

त्यस्तो सहमति नबनेसम्म मिति घोषणा भईहाल्छ भन्न अझै गाह्रो रहेको जानकारहरु बताउँछन्।

बचाउ

मिति घोषणामा भएको ढिलाइप्रति एकीकृत माओवादी लगायत अन्य कतिपय दलका नेताहरुले चर्को आलोचना गर्न थालेको बेला प्रचण्डले भने सरकारको डटेर बचाउ गरे।

“सरकार गम्भीर छ। मिति घोषणा गर्ने बारे सरकार गम्भीर छैन कि भनेर गरिने आशंका गलत छन्। मन्त्रिपरिषदका अध्यक्ष र मन्त्रीहरु सबै नै अब छिटो ऐन टुंग्याएर निर्वाचनको मिति घोषणा गर्ने कुरामा गम्भीर हुनुहुन्छ। यसमा हामी कोही आशंकित हुनु पर्दैन,” प्रचण्डले भने।

प्रचण्डको भनाइपछि अब धेरैको नजर बुधबार बिहान डाकिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकतिर केन्द्रित हुनेछ।

यसअघि सरकारका मन्त्रीहरुले विवाद समाधान गर्न दलहरुले नसके सरकारले आफ्नै ढंगको निर्णय गरेर चुनावी कानुनलाई सकेसम्म छिटो टुंग्याउने अवस्था आउन सक्ने टिप्पणी गरेका थिए।