गणतन्त्र दिवसमा छुट्टा छुट्टै कार्यक्रम

  • 29 मे 2013
Image caption राष्ट्रपति रामबरण यादवले काम गर्ने क्रममा यदाकदा त्रुटी हुने बताएका छन्

बुधबार छैठौं गणतन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर पहिलो साता चुनाव गर्ने सार्वजनिक गरेका छन्।

सैनिक मन्चमा आयोजित एउटा कार्यक्रमलाई संबोधन गर्दै रेग्मीले दलहरुसँग दुइपक्षीय बहुपक्षीय र सर्वदलीय बैठकहरु चलाइरहेको उल्लेख गर्दै चुनावमा सबैलाई सहभागी गराउने प्रयत्न भइरहेको बताएका छन्।

गणतन्त्र दिवसको उपलक्ष्यमा जारी गरेको अर्को छुट्टै वक्तब्यमा रेग्मीले सबै नेपालीसित संविधानसभाको निर्वाचनमा भाग लिन आह्वान समेत गरेका छन्।

गणतन्त्रको सबैभन्दा शीर्ष संस्था राष्ट्रपतिको कार्यालयले गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा सरिक हुने र त्यसलाई बहिस्कार गर्ने गरी नेपाली समाज दुइ फ्याकमा विभाजित भएको देखिएको छ।

गणतन्त्र संस्थागत गर्न भन्दै राजनीतिक दलहरुले संविधानसभाको दोश्रो चुनाव गर्ने जिम्मा प्रधान न्यायाधीश खिलराज रेग्मी र पूर्व प्रशासकहरुको समुहलाई सुम्पेका छन्।

विभाजन

चुनावी सरकार कसको नेतृत्वमा बनाउने भनेर दलहरुले १० महिनासम्म झगडा गरेपछि उनीहरुले रेग्मी सरकार बनाएका थिए।

तर त्यसको विपक्षमा स्वरहरु चर्किँदै जाँदा गणतन्त्र दिवसको दिन बुधबार नागरिक समाजको एउटा समुहले राष्ट्रपतिको कार्यक्रम बहिस्कार गर्दै छुट्टै सार्वजनिक कार्यक्रम गरेको छ।

बहिस्कारवादीहरुको कार्यक्रममा पुगेका थुप्रै नेताहरु मध्ये एक थिए संविधानसभाका पूर्व सभामुख सुवास नेम्वाङ।

उनी भन्छन्, "हिजो आन्दोलनमा संगै रहेका नागरिका समाज पापड बार अशोशियशनले छुट्टै गणतन्त्र दिवस मनाउने स्थिति आइलाग्नु दुर्भाग्यपूर्ण छ।"

त्रुटी

नेम्वाङ दलहरुलाई बाहिर राख्ने गरी भइरहेका पछिल्ला गतिविधिलाई त्रुटीपूर्ण ठान्छन्।

पछिल्ला कति निर्णयमा त्रुटी भएको स्वयं राष्ट्रपति रामबरण यादवले स्वीकार गरेका छन्।

गणतन्त्र दिवसको उपलक्ष्यमा उनले जारी गरेको शुभकामना सन्देशमा ‘अब त्रुटी नहोर्‍याउने प्रतिबद्धता गर्दै अघि बढ्नु सबैको कर्तब्य हुने’ उल्लेख गरेका छन्।

हातेमालो गरेर गणतन्त्र ल्याएका दलहरुले आपसी विमतिकै कारण पहिलो संविधानसभाबाट संविधान दिन सकेनन्।

दलहरुकै सक्रियतामा पछिल्लो समय भएका गैर राजनीतिक सरकार बनाउनेदेखि कतिपय नियुक्तिका विषयमा राष्ट्रपति पनि विवादमा तानिएका छन् ।

बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन्, त्यसबाट मुलुकमा राजनीतिक अन्यौल थप गहिरिएको ठानिएको छ।