दुइ हप्तामा तीन विमान दुर्घटना

  • 1 जुन 2013
Image caption जेठ महिनाभित्रै तीनवटा हवाइ दुर्घटना भइसकेका छन्

नेपालका पहाडी क्षेत्रमा बारम्बार दोहोरिँदै आएको हवाइ दुर्घटना कम गर्न सरकारले दुर्घटना अनुसन्धान गर्ने, अनुसन्धानबाट आएका सुझाव कार्यान्वयन गर्ने र हवाइ सुरक्षालाई चुस्त बनाउन नयाँ नियमन निकाय बनाउने तयारी गरिरहेको बताइएको छ।

नेपालको हवाइ सुरक्षाको गुणस्तर मापदण्ड भन्दा निकै तल रहेकाले हवाइ आकाश असुरक्षित भन्दै आलोचना भइरहेका बेला पर्यटन मन्लायका सचिव सुशील घिमिरेले यो आर्थिक वर्ष भित्रै त्यस्तो निकाय बनाइने प्रयत्न गरिने बताएका छन्।

उनी भन्छन्, "रिपोर्ट तयार भएपछि कार्यान्वयन गर्ने निकाय छैन, दुर्घटना हुने वित्तिकै छानविन गर्ने, सुरक्षा लगायतका विषय अनुगमन गर्न यो आर्थिक वर्ष भित्रै छुट्टै निकाय बनाउने तयारी गरिरहेका छौं।"

गत दुइ हप्ताको हाराहारीमा तीनवटा जहाज दुर्घटनाग्रस्त भएपछि हवाइ सुरक्षाबारे व्यापक प्रश्न उठेको छ।

दुर्घटना

शनिबार विहान सीता एअरको विमान हुम्ला जिल्ला स्थित सीमिकोट विमानस्थलमा दुर्घटनाग्रस्त बनेको छ।

गत मंगलबार पनि सीमिकोट विमानस्थलमै गोमा एअरको विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो।

त्यसैगरि गत जेठ २ गते नेपाल एअरलाइन्सको विमान जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा अनियन्त्रित भएर काली गण्डकीको किनारमा खसेको थियो।

विशेषज्ञहरु नेपालको हवाइ सुरक्षा मापदण्ड कमजोर रहेको ठान्छन्।

गत दुइ हप्तामा तीन तीनवटा दुर्घटना हुनु त्यसको बलियो प्रमाण भएको उनीहरु बताउँछन्।

हवाइ क्षेत्रको नियमन गर्ने संस्था नागरिक उड्डयन प्राधीकरणमाथि पनि उनीहरुले प्रश्न उठाएका छन्।

आलोचना

सचिव घिमिरे ति आलोचनामा सत्यता रहेको स्वीकार्दै भन्छन्, "हवाइ उड्डयन प्राधिकरणले केहि नगरेको होइन तर केहि कमजोरी पक्कै भएका हुन्।"

उनी हवाइ सुरक्षामाथि सुधार ल्याउन पाइलट व्यवसायी र सरकारी पक्षबीच त्रिपक्षीय वार्ताको आवश्यकता औ‌ल्याउँछन्।

सचिव घिमिरेका अनुसार मन्त्रालयले अबदेखि छानविन रिपोर्टको पूर्ण स्वरुप नै वेवसाइट मार्फत सार्वजनिक गरिने निर्णय गरेको छ।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, अन्तर्राष्ट्रिय रुपमा नेपालको हवाइ सुरक्षाबारे प्रश्न उठेको भनिएका बेला दोहोरिरहेका दुर्घटनाकै कारण हवाइ यात्रुको संख्या घटेको जानकारहरुको बुझाइ छ।