चुनावमा जान दलहरुलाई राष्ट्रपतिको दबाब

  • 5 जुन 2013
राष्ट्रपति रामवरण यादव
Image caption केही साताको अन्तरालपछि राष्ट्रपतिले राजनीतिक परामर्शलाई तीव्रता दिएका छन्

पछिल्ला केही साता औपचारिक राजनीतिक भेटघाटबाट टाढै देखिएका राष्ट्रपति रामवरण यादवले सरकार गठनसँगै विभाजित बनेका दुबै पक्षका पार्टीहरुलाई शीतल निवासमा बोलाएर मंसिरभित्रै चुनाव गर्न दबाब दिएका छन्।

सरकारलाई समर्थन गरिरहेका मुख्य चार शक्तिभित्रै चुनावी कानुनबारे गम्भीर मतभेद रहेका बेला अन्य असन्तुष्ट दलहरु सरकार र सरकार पक्षीय दलहरुविरुद्ध खनिँदा चुनावबारेको अन्यौल लम्बिरहेको छ।

बुधबार बिहान सत्तापक्षीय दल नेपाली काग्रेसका सभापति सुशील कोईरालासँग परामर्श गरेका राष्ट्रपतिले दिउँसो नेकपा संयुक्तका चन्द्रदेव जोशी, नेकपा मालेका सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसँग संयुक्त भेटवार्ता गरेका थिए।

चिन्ता

मंगलबार उच्चस्तरीय राजनीतिक समितिका संयोजक रहेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग छलफल गरेका यादवले बुधवार संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुटाछुट्टै छलफल गरे।

ती सघन छलफलको उद्देश्यबारे राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, “उहाँको मुख्य सरोकार चुनावको बारेमा जनतामा जुन अन्योल अझै छ, त्यो छिट्टै हटाउनु पर्‍यो र विश्वासको वातावरण श्रृजना गर्नुपर्यो भन्ने हो, चुनावको वातावरण अझै नबनिरहेकोमा उहाँ चिन्तित हुनुहुन्छ।”

साना दलका नेताहरुले राष्ट्रपति समक्ष चुनावको वातावरण बन्न नसकेको दोष मुख्य चार शक्तिको थाप्लोमा हालिदिएका थिए।

राष्ट्रपतिसँग भेटेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुख्य चार शक्तिले चुनाव पछि धकेल्न विभिन्न बाहानावाजी गरिरहेको आरोप लगाए।

कारण

केसीले भने, “ठूला पार्टीले आफु चुनाव जित्ने सम्भावना देखिरहेका छैनन्, काग्रेस-एमाले-मधेशी मोर्चा कसैको स्थिति राम्रो छैन्, माओवादी विभाजित छ, यिनीहरुले चुनावको विरोध गर्न सकिरहेका छैनन् तर भित्रैबाट चुनाव गराउन लागिपरेका छैनन्।”

एक बर्ष अघि संविधानसभा विघटन भए यता चुनावी वातावरण बनाउन दलहरुलाई राष्ट्रपतिले दबाब दिदैँ आएका छन्।

दलहरुको भूमिकाप्रति भरोसा नगर्ने कतिपयका आँकलनमा आलंकारिक राष्ट्रपतिको दबाबले मात्रै चुनावको पक्षमा कुनै चामत्कारिक परिणाम ल्याउने सम्भावना देखिन्न।