'थ्रेसहोल्डमा कांग्रेस लचिलो'

  • 9 जुन 2013
निर्वाचन आयोग
Image caption चुनावी कानुनबारे दलहरु बीच मतभेद जारि रहेकाले संविधानसभा निर्वाचनको मिति तोक्न ढिलाई

संविधानसभाको चुनावको बाटो खुला गर्न निर्वाचन कानुनबारे सहमतिका निम्ति नेपाली कांग्रेसले न्यूनतम मत प्रतिशत अर्थात थ्रेसहोल्डको विवाद अन्त्य गर्न राखेको नयाँ प्रस्ताव एकीकृत माओवादीले अस्वीकार गरेको छ ।

यो संगै निर्वाचन कानुनमा सहमति जुटाउन बसेको मुख्य चार शक्ति सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठक आइतवार पनि विना निष्कर्ष टुंगिएको छ ।

चुनावबारेको अन्योल बढ्दै जांदा सरकारले विवादित प्रावधानहरुमा सहमति जुटाउन नसके आफूलाई जिम्मा दिन दलहरुलाई दबाब दिंदै आएको छ।

नयाँ प्रस्ताव

कांग्रेसका नेता रामशरण महतले संविधानसभा निर्वाचनमा एक प्रतिशत भन्दा कम मत ल्याउने दलले प्रत्यक्ष निर्वाचनतर्फ कम्तीमा एक सिट जित्नु पर्ने वा थ्रेसहोल्डको प्रतिशत पनि घटाउन आफ्नो दल तयार रहेको बताए।

उनको भनाई छ “हामी न्यूनतम एक प्रतिशत थ्रेसहोल्डकै पक्षमा छौं, संविधानसभा चुनाव भएकाले त्यसमा पनि लचक हुन हामी तयार छौं, कमसेकम एउटा निर्वाचन क्षेत्रमा जितेको दललाई पनि समानुपातिकमा सिट दिन हामी तयार छौं ।”

महतले फौजदारी अभियोगमा सजाय पाएकालाई चुनाव लड्न नदिने कानुनको पक्षमा कांग्रेस र नेकपा एमाले अडिग रहेको बताए।

जिम्मा सरकारलाई

आइतवारको बैठकमा एकीकृत माओवादीले ती विषयमा सहमति बन्न नसकेकाले निर्णय लिने जिम्मा सरकारलाई सुम्पिने प्रस्ताव राखेको थियो ।

एकीकृत नेकपा माओवादीका एक जना उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भन्छन् “हामी यी मुद्दाहरुमा अझै मिल्न सकेनौं भने अब मिल्न सकेनौं भनौं र कानुनबारे सरकारलाई निर्णय गर्न दिउँ भनेर हामीले भन्यौ तर कांग्रेस, एमालेले मानेनन्, सोमबार सहमतिको अन्तिम प्रयास हुन्छ र कुरा मिलेन भने यी एजेण्डामा सरकारले निर्णय गर्छ ।”

सरकारले पनि दलहरुको निर्णय अब धेरै कुर्न नसक्ने चेतावनी दिइरहेको छ ।

सरकारले असन्तुष्ट साना दलहरुसँगको वार्तामा थ्रेसहोल्ड नराख्न तयार रहेको संकेत गरेकाले कांग्रेस र एमाले सरकारलाई निर्णय जिम्मा दिन अनकनाइरहेको ठानिएको छ।

कांग्रेस नेता महतका अनुसार सरकारलाई निर्णय गर्न जिम्मा दिने सम्भावना पनि रहेको छ ।

तर दलहरु अहसमतिमै अल्झिरहे चुनाव पछि धकेलिने र सरकारको दबाबले गर्दा उनीहरु सामू सहमति गर्ने र त्यसो हुन नसके सरकारलाई जिम्मा दिनेभन्दा अर्को विकल्प देखा परिरहेको छैन।