मंसीरभित्रै चुनाव होस्:भारत

  • 11 जुन 2013
नेपाली कांग्रेसका शीर्ष नेताहरु
Image caption शेरबहादुर देउवाको भारत भ्रमणबारे कांग्रेस नेतृत्व पंक्तिमा असन्तुष्टि देखिएको समाचार बाहिर आएका छन्

एकपछि अर्को गर्दै वरिष्ठ नेपाली नेताहरुलाई निम्त्याएको दक्षिणी छिमेकी भारतले नेपालको वर्तमान अन्योलपूर्ण अवस्था अन्त्यका लागि आगामी मंसीरभित्रै नयां संविधानसभाको चुनावमा जोड दिएको छ।

हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासंग मंगलवार भएको भेटमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले त्यस्तो धारणा राखेका हुन्।

मंसीरभित्र चुनाव गराउनका लागि सिंहले सबै नेपाली शक्तिहरुले मिलेर काम गर्नुपर्ने सुझाव पनि दिएको देउवासंगै भेटमा सहभागी भएका नेपाली नेता तथा अधिकारीहरुले बताएका छन्।

चुनावमा जोड

आफ्नो भारत भ्रमणको तेस्रो दिन मंगलवारसम्म भएका उच्चस्तरीय राजनीतिक भेटवार्ताहरुमा देउवाले भारतीय संस्थापन पक्षबाट एकै खालको सन्देश पाए, नेपाली दलहरुले तोकेको समय मंसीरभित्रै चुनाव होस् भन्ने।

प्रधानमन्त्री सिंहले मात्रै नभई सत्तारुढ संयुक्त प्रगतिशील गठवन्धन युपीएकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्शिद लगायतका करीब आधा दर्जन भारतीय नेता तथा उच्चअधिकारीहरुले नेपालको तत्कालको अन्योल निकासका लागि चुनावमात्रै विकल्प भएको सुझाव दिएका थिए।

देउवासंगै ती भेटमा सहभागी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भने, “पटकपटक भारतीय प्रधानमन्त्रीले चुनावमा जोड दिनुभयो। विदेशमन्त्रीदेखि लिएर सोनिया गान्धीसम्मका नेताहरुले पनि मंसीरभित्रै चुनाव होस् भन्ने धारणा राख्नुभयो। ”

कतिपय भारतीय नेताहरुले भने हालको गैरदलीय अन्तरिम सरकार लामोसमय सम्म चलिरहन नसक्ने संकेत दिने शैलीमा चुनावबाट छिटै राजनीतिक सरकार चयन गर्नु उपयुक्त हुने सुझाव दिएको नेता निधिले जानकारी दिए।

उनले भने, “कतिपय भारतीय नेताले त अहिले राजनीतिक सरकार छैन र त्यस्तो सरकार गठनका लागि चुनावमा छिटो जानुपर्छ भन्ने विचार हामीसंग राखेका थिए।”

संघीयता

त्यसो त चुनावमात्रै छलफलको विषय थिएन।

सबैभन्दा जटिल हुने ठानिएको संघीयताको मुद्दालाई देउवा स्वयमले भारतीय नेताहरुसंगका कुराकानीका क्रममा पटकपटक राखेका थिए।

अध्यक्ष गान्धी लगायतसंग त्यसबारे भएको छलफलसम्बन्धमा निधिले भने, “संघीयताबारे अहिले सहमति हुन सकेको छैन, यद्यपि पहिले ११ प्रदेशमा सहमति भएको थियो भन्ने चर्चा देउवाले गर्नुभयो। सोनिया गान्धी लगायतले यो समस्या नेपाली जनताले तय गर्ने विषय भएको बताएका थिए।"

चुनाव र संघीयताजस्ता राजनीतिक मुद्दा मात्रै होइन देउवाले सरकार प्रमुखले झै‌ निजगढ काठमाण्डू द्रूतमार्ग निर्माण लगायतका झण्डै आधा दर्जन विकास निर्माणका विषयमा भारतीय सहयोग खोजेका थिए।

यसबाट उनले एउटा पार्टी विशेषको नेताका रुपमा नभई समग्र मुलुककै प्रतिनिधिका रुपमा भारत पुगेको सन्देश दिन खोजेको कतिपयको विश्लेषण छ।