इरानमा राष्ट्रपतीय चुनाव

  • 14 जुन 2013
राष्ट्रपति पदका प्रतिस्पर्द्धीहरु
Image caption सबैजसो उम्मेदवारहरु अनुदारवादी खेमासंग संबद्ध रहेको ठानिएको छ

बिहान आठ बजे शुरु भएको मतदान बेलुका ६ बजेसम्म चलेको थियो।

झण्डै पांच करोड इरानीहरु मतदानमा भाग लिन योग्य छन्।

राजधानी तेहरानस्थित एउटा मतदान केन्द्रमा पहिलो पटक मत खसालेकी एकजना किशोरी जहरा फुलादीले भनिन्, “म र मेरा साथीहरुले मतदान गर्न पाएको यो पहिलो पटक हो। हामी यो चुनावमा भाग लिन, भोट खसाल्न र देशको व्यवस्थापनमा आफ्नो राय व्यक्त गर्न निकै इच्छुक छौं।”

आठ वर्षसंम राष्ट्रपतिको जिम्मेवारी संहालेका महमुद अहमदिनेजादका नयां उत्तराधिकारी चयन गर्न भैरहेको यो चुनावमा ६ जना अनुदारवादी उम्मेदवारहरु प्रतिस्पर्द्धा गरिरहेका छन्।

तर तीमध्ये एकजना हसान रुहानीले चुनावी अभियानका पछिल्ला दिनहरुमा धेरैको ध्यान तानेका छन्।

राजनीतिक सुधार

भूतपूर्व आणविक वार्ताकार रुहानीले मध्य तथा सुधारवादी गुटहरुको प्रतिनिधित्व गर्दछन् र उनले देशमा सामान्य राजनीतिक सुधारहरु गरिनु पर्ने बताएका छन्।

चुनावी अभियानमा उनका उत्साही समर्थकहरुले उनको जोडदार स्वागत गरेका थिए।

रुहानी बाहेक बांकी अन्य उम्मेदबारहरु इरानका सर्वोच्च नेता अयातोल्लाह खमैनीसंग निकट ठानिन्छन्।

इरानको गार्डियन काउन्सिलले भूतपूर्व राष्ट्रपति अकबर हासेमी रफसन्जानी सहित झण्डै सातसय उम्मेदवारहरुलाई चुनाव लड्न अयोग्य घोषित गरीदिएपछि रफसन्जानीले आफ्ना समर्थकहरुलाई रुहानीलाई नै भोट दिन आह्वान गरेका छन्।

शुक्रबार मतदान शुरु हुनासाथै भोट खसालेका सर्वोच्च नेता अयातोल्लाह खमैनीले देशवासीहरुलाई ठूलो संख्यामा मतदान गर्न आह्वान गरे।

आलोचना

संधैझैं उनले इरानको राष्ट्रपतीय चुनाव स्वतन्त्र छैन भनि अमेरिकीहरुले गरेको टिप्पणीको कडा आलोचना गरे।

खमैनीले भने, “भर्खरै मैले अमेरिकी राष्ट्रिय सुरक्षा परिषदको एक व्यक्तिले उनीहरु इरानको चुनावमा विश्वास गर्दैनन् भनेको सुनें। यद‌ि हाम्रो चुनावमा विश्वास गर्दैनौ भने तिमीहरु नर्कमा जाउ। तिमीहरु के विश्वास गर्छौ र के गर्दैनौ भन्ने हेर्न पर्खनपर्ने भए इरानीहरु पछाडि पर्ने थिए।“

सर्वोच्च नेता खमैनीले इरानी जनताले आफ्नो हित के हो भन्ने कुरा आफै निधो गर्ने पनि बताए।

इरानको आणविक कार्यक्रमलाई लिएर लगाइएको अन्तर्राष्ट्रिय नाकावन्दीले इरानको अर्थतन्त्रमाथि निकै धक्का पुराएको छ।

त्यसो त चुनावी अभियानका शुरुका दिनहरुमा मतदाताहरुमा खासै उत्साह देखिदैनथ्यो।

तर मतदानको दिन नजिकिैदै गएपछि चाहिं पहिले निराशावादी सुनिने धेरै इरानीहरुले पनि मतदानमा भाग लिने मन बनाएको तेहरान विश्वविद्यालयका एकजना प्राध्यापक सादेग जिवाकामले बताए।

उनले भने, “गएको झण्डै एकसातादेखि धेरै इरानीहरुमा पहिले कहिल्यै नदेखिएको उत्साह देखिएको छ। शुरुमा धेरै इरानीहरुमा चुनावमा भाग लिने कि नलिने भन्ने दोधार र निकै आशंका थियो, तर केही परिवर्तन ल्याउन सकिन्छ कि भनेर अहिले धेरै इरानीहरु मतदान गर्न आएका छन्।”

आयाम

यो चुनावको अन्तर्राष्ट्रिय आयाम पनि छ।

सिरियामा युद्ध चर्कंदै जांदा राष्ट्रपति असादको सत्तालाई लेबनानमा आधारित हेजबोल्लाह तथा इरान सरकारको खुला समर्थनको पश्चिमा मुलुकहरुले कडा आलोचना गरेका छन

तर इरान चाहिं त्यस्ता आलोचनाहरुलाई बेवास्ता गर्दै सेना तथा सर्वोच्च नेताप्रति वफादार नयां नेता चयन गर्न चाहन्छ।

इरान सरकारले यो चुनावको अनुगमन गर्न कुनै पनि विदेशी पर्यवेक्षकहरुलाई अनुमति दिएको छैन।

प्रतिबन्ध

त्यस्तै सन्चारमाध्यमहरुमाथि पनि कडा प्रतिवन्ध लागू गरिएका छन्।

कैयौं सुधारवादी अखबारहरु बन्द गरिएको छ, इन्टरनेट र विदेशी प्रसारणहरुसंमको पहुंचलाई सीमित तुल्याईएको छ र कैयौं पत्रकारहरुलाई थुनिएको छ।

बीबीसीले बिहीबार इरानी अधिकारीहरुमाथि बीबीसीमा कार्यरत पत्रकारहरुका इरानमा रहेका परिवारजनहरुलाई चरम धम्की दिईएको आरोप लगाएको थियो।

इरानी अधिकारीहरुले ती आरोपहरुबारे कुनै टिप्पणी गरेका छैनन्।