चुनावलाई चुनौती दिन बन्द

  • 16 जुन 2013
nepal strike
Image caption बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको थियो

चुनावको पक्षधर मुख्य चार राजनीतिक शक्तिबाट विगतमा फुटेर गएका तीनवटा दल र उनीहरुले नेतृत्व गरेको मोर्चाले संयुक्त रुपमा गरेको नेपाल बन्दका कारण आइतवार देशभरको जनजीवन प्रभावित बन्यो।

सरकारले शपथ लिएकै दिन आकस्मिक बन्द मार्फत विरोध गरेका विपक्षीहरुले चुनावको मिति घोषणा गरेको चौथो दिन पुन: बन्द गरेका हुन्।

सधैँ जस्तै आइतवारको बन्दमा पनि सामान्य जनजीवन प्रभावित रह्यो, सडक र व्यवसाय ठप्प भए।

प्रदर्शनकारीहरुले देशभर करीब ८ वटा गाडीको सिसा फुटाएको र जबरजस्ती बन्द गराउदैँ हिडेंका दुई जनालाई पूर्वी पहाडी जिल्ला खोटाङमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

दावी

तर बन्दले जनताको समर्थन प्राप्त गरेको दावी गर्दै आयोजक मध्येको एउटा दल नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेल सन्तुष्ट देखिए।

उनले भने, “विना तोडफोड, जनतालाई दुख नदिइकन यो कार्यक्रम सफल भएको छ । यसबाट संविधानसभाको कथित दोस्रो निर्वाचन संविधान बनाउन हो भन्ने विश्वास जनतामा नरहेको देखिन्छ।”

मंसिरमा चुनाव गर्न सहमत भएका मुख्य चार राजनीतिक शक्तिसँग विगतमा एकै ठाउँ रहेका नेताहरु नै अहिले सरकारले घोषणा गरेको चुनावको विपक्षमा उभिएका छन्।

संविधानसभा निर्वाचनको माग गर्दै दश बर्ष सशस्त्र संघर्ष गरेको एकीकृत माओवादीबाट पोहोर साल फुटेर बनेको मोहन बैद्य नेतृत्वको नेकपा माओवादी, ६२/६३को मधेश आन्दोलनबाट उदाएको मधेशी जनअधिकार फोरम नेपाल र नेकपा एमाले छाडेका नेताहरुको नेतृत्वमा गठित संघीय समाजवादी पार्टीले बन्द आयोजना गरेका हुन्।

सरकारले चुनावमा भाग लिन ती दलहरुलाई भिन्दाभिन्दै पत्रमार्फत र देशवासीका नाममा मन्त्रिपरिषदका अध्यक्षको संबोधनमार्फत पनि आव्हान गरेको थियो।

वार्तामा नबस्ने

सरकारसँग वार्तामा रहेका फोरम नेपाल र संघीय समाजवादी पार्टी उनीहरुसँग सल्लाह नगरी सरकारले चुनावको मिति तोकेपछी बिच्किएको बताइएको छ।

आइतबार सांझ कोणसभा सम्बोधन गर्न राजधानीको नयाँ बानेश्वर पुगेका मधेशी जनअधिकार फोरम नेपालका महासचिव रामसहाय यादवले उनको पार्टी अब सरकारसँग वार्तामा नबस्ने बताए।

“जबसम्म चुनावको मिति घोषणा गर्ने एकतर्फी निर्णयमा पुनर्विचार हुदैँन। हामी सरकारसँग वार्तामा बस्दैनौं,” उनले भने।

मोहन बैद्य नेतृत्वको माओवादी वर्तमान सरकारको राजीनामा र २५ बुंदे अन्तरिम संविधान संशोधन खारेजीको माग गरिरहेको छ।

तर उपेन्द्र यादव नेतृत्वको फोरम र संघीय समजवादी पार्टी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिए र समानुपातिक प्रणालीतर्फ अहिले राखिएको २४० निर्वाचन क्षेत्रको संख्या बढाइए चुनावमा भाग लिने पक्षमा छन्।

संकट

संचारमन्त्री तथा सरकारका प्रवक्ता माधव पोडेलले सरकार उनीहरुसँग अनौपचारिक सम्पर्कमा रहेको र दुवै पक्षको अनुकूलतामा औपचारिक वार्ता हुने बताए।

“निर्वाचनको मिति घोषणा गर्नु अघि पनि हामी उहाँहरुको सम्पंर्कमा नै थियौ, शनिबार पनि उहाँहरुसँग अनौपचारिक कुराकानी भएको छ, दुवै पक्षलाई मन्जुर हुने समयमा फेरि वार्ता हुन्छ।”

सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रले असन्तुष्टहरुलाई चुनावी पोल्टामा ल्याउन प्रयत्न गरिने बताउँदै आएका छन्, तर असन्तुष्ट दलहरु आन्दोलन चर्काउने पक्षमा रहेको बताउँछन्।

दुई पक्षबीचको अविश्वास बढ्दै जाने हो मंसिरमा प्रस्तावित चुनाव संकटमा पर्ने कतिपयको बुझाइ छ।