मण्डेलाको स्थिति अझै गम्भीर

  • 27 जुन 2013
एन्दिलेका मण्डेला
Image caption मण्डेलाकी नातिनीले आफ्ना हजुरबुवाको स्वास्थ्य स्थिति स्थिर रहेको बताइन्

दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले गएराती नेल्सन मण्डेलाको स्वास्थ्यमा केही सुधार आएको बताएका छन्।

अस्पतालमा मण्डेलालाई भेटेर आएपछि बोल्दै जुमाले भने, उनको स्वास्थ्य यसअघि आफुले भेटेर आएको भन्दा राम्रो थियो।

मण्डेलाकी नातिनी एन्दिलेके मण्डेलाले आफ्ना हजुरबुवाको स्थिति अझै गम्भीर तर स्थिर रहेको बताएकी छिन्।

संक्रमण

फोक्सोको संक्रमण बल्झिएपछि दुई साताभन्दा केही अघि मण्डेलालाई प्रिटोरियास्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो।

दक्षिण अफ्रिकाका भूतपूर्व राष्ट्रपति मण्डेलालाई राखिएको अस्पताल बाहिर उनका शुभचिन्तकहरुको संख्या बढ्दै गएको छ।

कतिपय मानिसहरुले उनको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै नाचगान पनि गरेका थिए।

यस्ता शुभेच्छाहरुका बीचपनि चौरान्नब्बे बर्षीय मण्डेलाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको बताइन्छ।

उनलाई अस्पतालमा भेटेर आएका राष्ट्रपति जुमाले गएराती नेल्सन मण्डेलाको स्वास्थ्यमा केही सुधार आएको बताए।

अडकलवाजी

तर यसअघि उनले मोजाम्बिकको पूर्व निर्धारित भ्रमण अचानक रद्द गरीदिएपछि मण्डेलाको स्वास्थ्यस्थितिका बारे अनेकन अडकलबाजीहरु भएका थिए।

संवाददाताहरु भन्छन्, दक्षिण अफ्रिका अब आफ्ना भूतपूर्व नेतालाई अन्तिम विदाइ गर्न मानसिकरुपमा तयार हुंदै गएको जस्तो देखिन्छ।

रोयटर्स समाचारसंस्था संग कुरा गर्दै एकजना २५ बर्षीय युवा जोन एनलोभुले भने, “मण्डेलाको निधन भयो भने हामी सबै दुखी हुनेछौं। तर हामी उनको जीवनको उत्सव पनि मनाउन चाहन्छौं। उनले हाम्रो मुलुकको लागि निकै काम गरेका छन्।“

आफ्नो अफ्रिका भ्रमणका क्रममा सेनेगल पुगेका अमेरिकी राष्ट्पति बाराक ओबामाले मण्डेला विश्वकै एकजना नायक भएको बताए।

उनी त्यसपछि दक्षिण अफ्रिका पुग्नेछन्।

तर उनले अस्पतालमा मण्डेलालाई भेटने छन् वा छैनन् भन्नेबारे अझै केही बताइएको छैन।

विरोध

दक्षिण अफ्रिकाको रंगभेदवादी शासनको विरोध गरेपछि मण्डेलालाई २७ बर्षसम्म थुनामा राखिएको थियो।

जेलमा रहंदा उनलाई फोक्सोको समस्या देखा परेको बताइन्छ।

आफु छुटेपछि देशको पहिलो अश्वेत राष्ट्रपतिको रुपमा उनले राष्ट्रिय मेलमिलापको नीति अपनाएका थिए।

उनको योगदानको कदर गर्दै सन् १९९३ मा उनलाई नोबेल शान्ति पुरष्कारबाट सम्मानित गरिएको थियो।

उनले सन् १९९९ मा राष्ट्रपतिको एक पदावधि पुरा गरेका थिए।

सन् २००४ देखि उनी सार्वजनिक समारोहहरुमा त्यति देखिदैनथे।