ग्रन्थ गाथा

  • 28 जुन 2013
निस्वासत्तात्वसंहिता
Image caption युनेस्कोको सूचीमा समावेश भएपछि यी ग्रन्थका विषयवस्तुबाट विश्वनै लाभान्वित हुने बताईन्छ

पहिलो पटक युनेस्कोको मेमोरी अफ द वर्ल्ड रजिस्टरमा दर्ता हुन सफल नेपालका दुईवटा प्राचीन हस्तलिखित ग्रन्थहरुका विशेषता के हुन्?

आयुर्वेद र तन्त्र-विज्ञानका सम्बन्धमा लेखिएका प्राचीनतम ती हस्तलिखित ग्रन्थलाई धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षणमा सक्रिय राष्ट्रसंघीय संस्था युनेस्कोले छनोट गरेको हो।

नेपालमा यस्ता ग्रन्थहरु थुप्रै भएको र यसरी दर्ता भएपछि यसमा भएका विषयवस्तुबाट विश्व नै लाभान्वित हुन सक्ने अध्येताहरुले बताएका छन्।

ताडपत्र

युनेस्कोले सार्वजनिक गरेको विवरण अनुसार सहोत्तरतन्त्र र निस्वासत्तात्वसंहिता नामक ती दुईवटा हस्तलिखित ग्रन्थ संसारकै सम्झनाका निम्ति उक्त सूचीमा दर्ता भएका छन्।

ताडपत्रमा लेखिएको सहोत्तरतन्त्र आयुर्वेद सम्बन्धी ११३४ वर्ष पुरानो हस्तलिखित ग्रन्थ हो।

यसमा मुटु, छाला, प्रसूतिरोग लगायतका रोग र उपचार विधि समेटिएका छन्।

निस्वासत्तात्वसंहिता भने तन्त्र-विज्ञान सम्बन्धी उत्तिकै पुरानो हस्तलिखित ग्रन्थ हो।

यस अन्तर्गतको योग शिक्षाबाट अहिले पश्चिमी जगत पनि उत्तिकै प्रभावित छ।

महत्व

यी दुईवटा ग्रन्थ दर्ता भएपछि नेपालका अरु पुरातात्विक ग्रन्थहरुको महत्व अझ बढ्दै जाने धारणा राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नालले राखेका छन्।

उनी भन्छन्, "अभिलेखालयमा मात्रै लगभग दुई लाख ग्रन्थहरुको माइक्रो फिल्मिङ छ। बीस हजार हस्तलिखित ग्रन्थहरुको सक्कली प्रति संरक्षित छ। यस्ता प्राचीन ग्रन्थहरुको लागि नेपाल विश्वमा ज्यादै महत्वपूर्ण ठाउँ हो भन्ने अहिलेसम्म कसैलाई थाहा थिएन तर अबचाहिँ धेरै मान्छेहरुलाई यसले उत्सुकता बढाउनेछ।"

उक्त दुईवटा ग्रन्थहरुमध्ये निस्वासत्तात्वसंहिता राष्ट्रिय अभिलेखालय र सहोत्तरतन्त्र केशर पुस्तकालयमा रहेका छन्।

प्राचीन कला, साहित्य, विज्ञान, आयुर्वेद, धर्म लगायतका विषयहरुमा यस्ता अनगिन्ती ग्रन्थहरु व्यक्तिहरुका घर, सार्वजनिक पुस्तकालय, धार्मिक तथा सांस्कृतिक स्थलहरुमा रहेका र ती आधुनिक विज्ञानको जननी भएको अध्येताहरुको भनाई छ।

सम्मान

मेमोरी अफ द वर्ल्ड रजिस्टरलाई निकै सम्मानका साथ हेरिन्छ।

त्यसैले यसमा दर्ता गराउनको लागि वर्षेनी विभिन्न मुलुकहरुले आफ्ना पुराना ग्रन्थहरु छनोटको लागि पठाउने गर्छन्।

पूर्वीय दर्शनमा आधारित कतिपय ग्रन्थहरुलाई अरु देशले पहिले नै दर्ता गराइसकेको र भविष्यमा पनि यो क्रम बढ्ने हुनाले नेपालमा रहेका ग्रन्थहरुलाई मेमोरी अफ द वर्ल्ड रजिस्टरमा दर्ता गर्न ढिला गर्न नहुने अभिलेखालयका प्रमुख दर्नालको भनाई छ।

"हामीसँग भएका दर्शन, पुराण लगायत विविध क्षेत्रका अद्वितीय ग्रन्थहरुलाई बेलैमा दर्ता गरेनौं भने अरु देशले त्यस्तै प्रकृतिका ग्रन्थहरु दर्ता गरीसकेका हुनेछन्। हामी पछि पर्नेछौं। हाम्रोमा उत्पत्ति भएको बौद्ध दर्शनका कतिपय ग्रन्थहरु अरुले नै दर्ता गरिसकेका छन्" दर्नाल भन्छन्।

मेमोरी अफ द वर्ल्ड रजिस्टरमा दर्ता भएपछि उक्त ग्रन्थको महत्वबारे चेतना फैलाउन मद्दत पुग्ने बताइन्छ।

विश्वव्यापी रुपमा जो कसैको पहुँच पुग्ने भएकोले उक्त ग्रन्थको विषयवस्तुबाट विश्व नै लाभान्वित हुने युनेस्कोले जनाएको छ।