चर्किएको विवाद मिलाउन विस्तारित बैठक

  • 30 जुन 2013
माओवादी अध्यक्ष प्रचन्ड
Image caption अध्यक्ष प्रचण्डले शुक्रबार केन्द्रिय समितिको विस्तार सम्बन्धी प्रस्ताव राखेपछि चर्को विवाद भएको थियो।

महाधिवेशन सकिएको झन्डै पाँच महिनापछि पार्टी भित्रको जिम्मेवारी बांडफाडको विषयलाई लिएर एकीकृत माओवादी गम्भीर विवादमा बल्झिएपछि उक्त दलले साउन ४ गतेका लागि विस्तारित बैठक बोलाएको छ।

पार्टीका शिर्ष नेताहरु जिम्मेवारी बाँडफाँड र उपाध्यक्ष बाबुराम भट्टराईले शुक्रबार गरेको पद त्यागले निम्त्याएको विवाद मिलाउन विफल भएपछि शनिबार केन्द्रिय समितिको बैठकले सर्वसम्मत रुपमा विस्तारित बैठक बोलाउने निर्णय गरेको हो।

अध्यक्ष प्रचण्डले पार्टीका अन्य मुख्य नेताहरुसँग सहमति गरेर शुक्रबार केन्द्रिय समितिको बिस्तार सम्बन्धि प्रस्ताव राखेपछि त्यसले चर्को विवाद निम्त्याएको थियो।

आइतबार साँझ केन्द्रिय समितिको बैठकमा प्रचण्डले विवाद हल गर्न साउन ४ गतेबाट विस्तारित बैठकको प्रस्ताव राखेका थिए।

बाँडफाँड

माओवादी प्रवक्ता अग्नि सापकोटाले विस्तारित बैठकले संगठनात्मक सिद्धान्त र जिम्मेवारी बाँडफाँडको विधि तय गर्ने बताउंछन्।

"विधिका अनेक उपाय हुन्छन्। फेरि टुंगो लागेन भने अन्तिममा त चुनावमा नै जानुपर्छ," सापकोटाले भने।

पद त्यागको घोषणा गरेका भटटराईसहित माओवादीका पदाधिकारीको बैठक बिहान अध्यक्ष प्रचन्डको निवास लाजिम्पाटमा बसेको थियो।

त्यसपछि शिर्ष नेताहरुले पार्टी मुख्यालय पेरिसडाँडामा शिर्ष नेताहरुले व्युरो र क्षेत्रिय समितिका इन्चार्जहरुसँग छलफल गरेका थिए।

चार सचिवहरु सहित नौ सदस्यीय पदाधिकारी प्रस्ताव गरिंदा एकजना पनि मधेशी नराखिएको भन्दै पार्टीकै प्रस्तावित जिम्मेवारी बाँडफाँडमा पुराना मधेशी नेताहरु रुष्ट देखिएका छन्।

अध्यक्षले प्रचन्डले शीर्ष नेताहरुबीचको अनौपचारिक सहमति अनुसार प्रस्तुत गरेको कार्यविभाजन प्रस्तावमा अध्यक्ष प्रचण्डका नजिक मानिएका पूर्व लडाकुका कमान्डरहरुले पनि असन्तुष्ट पोखेका थिए।

माओवादी लडाकुका एकजना पूर्व डिभिजन कमाण्डर सुकबहादुर रोक्काले जिम्मेवारी कार्यसम्पादनको आधारमा नभई गुटगत देखिएको बताए।

रोक्काले भने, "हाम्रो मातहतमा रहेका कम्पनी कमाण्डरहरु पूर्ण केन्द्रिय सदस्यसम्म गैरहेको अवस्थामा हामीसम्मलाई नलिंदा अन्याय भएको महसुस गरेका छौं। विधि प्रक्रियामा नभएर माथिबाटै दिने परम्पराहरुको यसपटक लामो श्रृखंला देखिएको छ।"

अविश्वास

बढ्दो असन्तुष्टिका माझ झन्डै ७०० नेता कार्यकर्ता सहभागी हुने विस्तारित बैठकले भट्टराईको पद त्याग र संगठनात्मक जिम्मेवारी एवं नेतृत्व उत्तराधिकारी लगायतका विषयमा निर्णय गर्ने बताइएको छ।

भट्टराईले पदीय लालसा त्यागको उदाहरण आफुबाटै पेश गर्न पद त्याग गरेको शनिबार बताएका थिए।

तर पार्टी भित्र शक्तीशाली रहेका अध्यक्ष प्रचण्ड पक्षधरले अध्यक्षलाई अप्ठेरोमा पार्ने चालबाजीको रुपमा हेरेका छन्।

उक्त दलभित्र उत्पन्न विवादले चुनावी तयारीलाई ओझेलमा पार्न सक्ने कतिपयको विश्लेषण छ।