प्रचण्डद्वारा एकल नेतृत्वको प्रस्ताव

  • 19 जुलाई 2013
Image caption झन्डै ५०० नेता-कार्यकर्ताले तीन दिन छलफल गरेर निर्णय लिने माओवादीले बताएको छ

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आगामी संविधानसभाको चुनावपछि गरिने संगठनात्मक राष्ट्रिय सम्मेलनसम्म दलमा आफ्नो एकल नेतृत्व रहने प्रस्ताव गरेका छन्।

हालै उपाध्यक्षको पद त्यागेका बाबुराम भट्टराईले राजीनामा फिर्ता गर्ने र वरिष्ठ नेताको पदमा बस्ने विकल्पमा सहमति नजनाएपछि प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्।

पदाधिकारी नियुक्ति र केन्द्रिय समिति विस्तार सम्बन्धी प्रस्तावमा चर्को विवाद भएपछि भट्टराईले तीन हप्ता अघि उपाध्यक्ष पद त्यागको घोषणा गरेका थिए।

शुक्रबार शुरु भएको विस्तारित बैठकमा प्रचण्डले राखेको प्रस्तावमा झन्डै ५०० नेता- कार्यकर्ताले तीन दिन छलफल गरेर निर्णयमा पुग्ने माओवादीले बताएको छ।

प्रभाव

ललितपुरको खन्ना गार्मेन्टमा शुरु भएको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले विशेष संगठनात्मक तथा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।

यो प्रस्ताव पारित गरे हेटौंडा महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिले चुनेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्ट बहादुर बोगटी केन्द्रिय सदस्यमा घटुवा हुनेछन् र प्रस्तावित संविधानसभा चुनाव सम्म पार्टीमा प्रचण्डको एकल नेतृत्व रहनेछ।

बन्द सत्रको उदघाट्न मन्तव्यको अधिकांश समय सविधानसभाको चुनाव र फुटेर गएको मोहन बैद्य नेतृत्वको माओवादीसँग आफूले गरेको वार्ता प्रयासबारे बोलेका प्रचण्डले माओवादी भित्र जारी संगठनात्मक बहसले दललाई थप एकताबद्ध बनाउने बताए।

‘हाम्रो पार्टी एउटा नयाँ घोषणा र कार्यक्रम सहित थप एकताबद्ध र अझ मजबुत भएर जानेछ र प्रतिक्रियावादिहरुको सपना फेरी पनि चकनाचुर हुनेछन्,” उनले भने।

अध्यक्ष अघि बोलेका भट्टराईले आफ्नो पद त्याग समस्या नभई दल भित्र देखिएको सांगठनिक समस्या समाधान गर्ने उपाय भएको बताएका थिए।

दोषारोपण

पार्टी भित्र देखिएको समस्या माओवादी शान्ति प्रकियामा आएपछि विभिन्न दलहरुसँग भएको एकीकरणले निम्त्याएको उनको भनाइ थियो।

उनले भने, “विभिन्न प्रकृतिका एकता प्रक्रियामा गएपछि हामी भित्र अशुद्धिहरु, संसदीय रोगहरु देखापरेका छन्। हामीलाई भित्र भित्रै कमजोर पार्दै लगेको यो समस्याको विस्तारित बैठकबाट हामीले निराकरण गर्नुपर्छ।”

प्रचण्डको प्रस्तावमा उपाध्यक्ष श्रेष्ठ र महासचिव बोगटी सन्तुष्ट नभएको बताईन्छ।

बीबीसीसंग कुरा गर्दै श्रेष्ठले भने, “अहिले केहि टुंगो लागेको छैन, विभिन्न प्रस्तावहरु आएका छन्। विस्तारित बैठकले जे निर्णय गर्छ, त्यो नै अन्तिम हुन्छ।”

विस्तारित बैठक अघि प्रचण्डले आफ्नो प्रस्ताव पदाधिकारी, केन्द्रिय समिति लगायत सहभागी बैठकमा अनुमोदन गराएको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए।

हेटौंडामा महाधिवेशन गरेको ६ महीना पछि माओवादीले पद विभाजनको अन्तिम टुंगो चुनाव पछि राष्ट्रिय सम्मेलन गरेर गर्ने निष्कर्ष निकाल्न लागेको हो।

प्रचण्डपक्षीय नेता, कार्यकर्ताको बलियो उपस्थिति रहेको विस्तारित बैठकले तत्कालका लागि समस्याको निरुपण गर्ने देखिएपनि त्यो अस्थायी मात्र हुने जानकारहरु बताउँछन्।

मंसिर ४ गते घोषित संविधानसभा चुनाव समयमा हुन नसके माओवादी भित्रका संगठनात्मक विवादहरु फेरि बल्झीन सक्ने कतिपयको ठम्याई छ।