इजरेल र प्यालेष्टिनीबीच प्रत्यक्ष वार्ता पुन: शुरु हुने

  • 20 जुलाई 2013
अमेरिकी विदेशमन्त्री जोन केरी
Image caption विदेशमन्त्री केरी मध्यपूर्वको ६ दिने भ्रमणको अन्त्यमा बोल्दै थिए

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीले प्यालेष्टिनी र इजरेलीहरु प्रत्यक्ष शान्ति वार्तामा फर्कन लागेका घोषणा गरेका छन्।

ती दुई पक्षबीचको पछिल्लो वार्ता तीन वर्षअघि देखि स्थगित रहंदै आएको थियो।

मध्यपूर्वको ६ दिने भ्रमणको अन्त्यमा जोर्डनमा बोल्दै विदेशमन्त्री केरीले वार्ताका बारे धेरै जानकारी त दिएनन् तर दुवै पक्षका प्रमुख वार्ताकारहरुले एक हप्ता भित्रै वाशिंटनमा बैठक गर्ने भने बताए। हतार अमेरिकी विदेशमन्त्री केरी स्वदेश फर्कनु अघि, वार्ताको घोषणा गर्न हतार हतारमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।

तर घोषणा गर्न पाउंदा उनी निकै आश्वस्त देखिन्थे किनकी हालैका महिनामा उनले इजरेली र प्लालेष्टिनी नेतृत्वलाई भेट्न धेरै पटक ओहोरदोहोर गरेका थिए।

ती दुवै पक्षलाई एकै ठाउंमा ल्याउने आफ्नो पछिल्लो प्रस्तावका लागि उनले जोर्डनीहरु र अरब लिगको समेत सहयोग लिएका थिए। सफल अन्तत: उनी केही दिन भित्रै दुवै पक्षबीच प्रत्यक्ष शान्ति वार्ता हुन लागेको बताउन सफल भएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै विदेशमन्त्री केरीले भने- “दुई पक्ष बीच लामो समय देखि विद्यमान मतभेदहरु रातारात समाधान होला र तिनीहरु निमिट्यान्न होलान् भन्नेमा कसैलाई विश्वास छैन।"

“हामीलाई थाहा छ आगामी दिनमा वार्ताका सामू रहेका चुनौतीहरुले अप्ठ्यारा विकल्पहरु मात्र प्रस्तुत गर्दछन्। तर आज म आशावादी छु।“

तर यस्ता राजनीतिक शब्दावलीहरु बाहेक पत्रकारहरुका सामु थप विवरणहरु प्रस्तुत गरिएनन्।

बरु विदेशमन्त्री केरीले वार्ताहरु सफल हुनका लागि गोपनियताको आवश्यकता पर्नेमा जोड दिए।

जसको अर्थ, इजरेलसंग वार्ता पुन: शुरु गर्नका लागि सन् १९६७ मा भएको युद्धविराम भन्दा अघिको अवस्थालाई आधार मानिनु पर्छ भन्ने प्यालेष्टिनी मागका सम्बन्धमा के भयो?

र इजरेली सरकारले विना कुनै पूर्व शर्त वार्ता थालिनु पर्छ भनेर लिईरहेको अडान छाडेको हो की होइन भन्ने जस्ता विषयहरु हालका लागि स्पष्ट भैसकेका छैनन्।