एनेकपा माओवादी एकल नेतृत्वतर्फ

  • 20 जुलाई 2013
Image caption एकीकृत माओवादीमा अब प्रचण्ड अध्यक्ष र अरु सबै केन्द्रीय सदस्य हुने बताइएको छ

बाबुराम भट्टराईले उपाध्यक्ष पद त्याग गरेपछि विकसित परिस्थितिमा एकीकृत माओवादी एकल नेतृत्वको नजिक पुगेको छ।

शुक्रबार विस्तारित बैठक शुरु हुनुअघि नै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले राजीनामा दिएपछि पार्टी एकल नेतृत्वमा जाने निश्चितप्राय: भएको बताइएको छ।

त्यसको औपचारिक घोषणा आइतबार सम्पन्न हुने भनिएको विस्तारित बैठकमा हुन बाँकी छ।

पद बाँडफाँटडका बेला भएको हानथापबाट विरक्त भएर आफूले पार्टीकै सांगठनिक नीति बमोजिम पार्टी शुद्धिकरणका लागि उपाध्यक्ष पद त्याग गरेको घोषणा भट्टराईले गरेका थिए।

टुंगो

पदत्याग प्रक्रिया किनारा लगाउन भन्दै बोलाइएको विस्तारित बैठक शुरु हुनु अघि नै बाँकी दुई पदाधिकारीले राजीनामा दिएपछि पार्टी एकल नेतृत्वतर्फ लागेको पार्टी प्रवक्ता अग्नी सापकोटाले बताए।

उनले भने, "चुनावपछि विशेष संगठनात्मक राष्ट्रिय सम्मेलन गरिनेछ र त्यसपछि मात्रै पदीय विषय टुंगो लाग्नेछ।"

आफू पुन: अध्यक्ष बने लगत्तै पुष्पकमल दाहाल प्रचण्डले हेटौंडा महाधिवेशनकै बेला सर्वसम्मत रुपमा भट्टराई र श्रेष्ठलाई उपाध्यक्ष र बोगटीलाई महासचिव चयन गरेका थिए।

बाँकी पदपूर्तिक्रममा आकांक्षीहरुको ठूलो संख्या, भटराईको पदत्याग र त्यसले उत्पन्न गराएको विवाद साम्य पार्न विस्तारित बैठक डाकिएको थियो।

वरिष्ठ समुह

अध्यक्ष प्रचण्डको एकल नेतृत्व हुने भएपनि पार्टी काम कारवाही सन्चालन गर्न वरिष्ठ नेताहरुको समुह नै सक्रिय रहने पार्टी पोलीटब्युरो सदस्य देवेन्द्र पौडेलले संकेत गरे।

उनले भने, "अध्यक्ष एक्लैले पार्टीका सम्पूर्ण काम गर्न सक्ने कुरा भएन विस्तारित बैठकले वरिष्ठ नेताहरुको समुह बनाउनेछ।"

दुई पदाधिकारीको राजीनामापछि एनेकपा माओवादीमा उत्पन्न पदीय विवाद विशेष संगठनात्मक राष्ट्रिय सम्मेलन सम्म थाँती रहने देखिन्छ।