वैद्य माओवादीद्वारा अन्तर्राष्ट्रिय समुदायको आलोचना

  • 21 जुलाई 2013
नेकपा माओवादीका कार्यकर्ताहरु
Image caption नेकपा माओवादीका नेता, कार्यकर्ताले जनविद्रोहको धम्की समेत दिने गरेका छन्

अलोकतान्त्रिक विधि तथा संविधान बन्ने सुनिश्चित नभएको निर्वाचनलाई समर्थन नगरियोस् भन्दै नेकपा माओवादी लगायत ३३ दलको मोर्चाले विदेशी मुलुकहरुको आलोचना गरेको छ।

खासगरी छिमेकी मुलुक तथा पश्चिमा राष्ट्रका प्रतिनिधिहरुले चुनावको समर्थन गर्दै टिप्पणी गरिरहेको बेला वैद्य नेतृत्वको माओवादीले उनीहरुको तीखो आलोचना गरेको छ।

“अन्तर्राष्ट्रिय समुदायचाहीं नेपाली राजनीतिको एउटा पक्षमा उभियो भन्ने जस्तो देखिएको हुनाले त्यस्तो भूमिका नखेल्दिन अनुरोध गरेर वक्तव्य जारी गरिएको हो,” नेकपा माओवादीका उपाध्यक्ष सी पी गजुरेलले बताए।

ठेस

वैद्य नेतृत्वको माओवादीले वर्तमान सरकारको राजीनामा र सहमतिमा निर्वाचनको अडान प्रस्तुत गरेपछि , ऊ संग वार्ता गरेर वातावरण बनाउने सरकार तथा सरकार समर्थक प्रमुख चार राजनीतिक शक्तिहरुको योजनामा समेत ठेस लागेको देखिएको छ।

उच्चस्तरीय राजनीतिक समिति तथा सरकारले वार्ताको आह्वान गर्दै पत्र पठाएको भएपनि आफुहरु अझै वार्ताप्रति उत्साहित हुन नसकेको नेता गजुरेलले बताएका छन्।

“सरकार पक्ष र चार दलको सिण्डिकेटबाट कस्तो कुरा आइरहेको छ भने वार्ता गर्ने तर केही विषय पहिले नै मान्नु पर्ने। जस्तो यो सरकार परिवर्तन गर्न नमिल्ने अनि चुनाव मंसिर ४ गते हुनैपर्ने भन्ने कुरा हामीलाई मान्य छैन,” उनले बताए।

परस्पर विरोधी यी अडानहरुका बीच मंसिरमा चुनाव गर्न अप्ठेरो पर्दै गएको देखिएको छ।

निर्वाचन आयोगले दल दर्ताका निम्ति गरेको आह्वानमा वैद्य माओवादीले निवेदन समेत दिएको छैन। उसलाई चुनावमा सहभागी गराउने हो भने दर्ताका निम्ति पुन: आह्वान गर्नुपर्ने देखिन्छ।

परिणाममुलक वार्तामा ढिलाई हुँदै गए मंसिरको तिथि झन झन संकटमा पर्ने विश्लेषकहरु बताउँछन्।

मंसिर ४ गतेका लागि तय गरिएको निर्वाचनका निम्ति निर्वाचन आयोगले सोमबारदेखि आचार संहिता लागू गराउने बताइसकेपनि उक्त निर्वाचनको राजनीतिक माहौल अझै तयार भइसकेको छैन।