दक्षिण एसियाली फुटबलमा युवा प्रतिस्पर्धा

  • 21 जुलाई 2013
नेपाली फुटबल खेलाडीहरु
Image caption जीतका लागि सबैले राम्रो तयारी गरेको प्रशिक्षकहरुले बताएका छन्

भविष्यको लागि योग्य पुस्ता तयार पार्ने उद्देश्यले, दक्षिण एसियाली फुटबल राष्ट्रहरुले दुई वर्षअघिबाट थालेका १६ वर्ष मुनिका खेलाडीहरुको फुटबल प्रतियोगिता, ‘साफ यु–१६ फुटबल च्याम्पियनसीपको, दोस्रो संस्करण काठमाडौंमा शनिबारबाट शुरु भएको छ।

माल्दिभ्स बाहेक दक्षिण एसियाका सात राष्ट्रले सहभागीता जनाईरहेको प्रतियोगिता जित्न सवै राष्ट्रले बेजोडको तयारी गरेको सम्वन्धित टोलीका प्रशिक्षकहरुले बताएका छन्।

नेपाललाई पनि प्रतियोगिताको एक बलियो दावेदारको रुपमा हेरिएको छ।

नेपाली प्रशिक्षक बालगोपाल महर्जनकै शब्दमा नेपाली युवा टोली उपाधीको लागि योग्य भइसकेको छ।

तर के उपाधि नै नेपालको वा अन्य मुलुकको एकमात्र लक्ष्य हो?

युवा खेलाडीहरुको प्रतिस्पर्धा फगत एक ट्रफीको लागि मात्रै हो?

के उपाधि मात्रै खेलाडीहरुलाई राष्ट्रिय टोली प्रवेशको सिंढी बन्न सक्छ?

११ दिनसम्म चल्ने प्रतियोगिताका बेला यी प्रश्न फुटबल विज्ञहरुले उठाएका छन्।

विशेषत: उपाधि तर्फको एकोहोरो दौडको दवावपूर्ण स्थितिमा युवा खेलाडीहरुमाथी नकारात्मक मानसिक असर, शारिरीक चोट जस्ता डरलाग्दो अवस्था वा कलिला खेलाडीमा अनुशासन विर्सिने बानी पर्ने हो की भन्ने चिन्ता फुटबल विज्ञमा देखिएको छन्।

नेपालको दावेदारी

दक्षिण एसियाली मुलुकको युवा फुटबल परिवेशमा उत्कृष्ट रहेको दावी गर्दै आएको नेपाली टोलीलाई प्रतियोगिताको एक बलियो सहभागी मानिनुमा धेरै कारणहरु देखिन्छ।

छिमेकी भारतमा हुने १४ वर्ष उमेरको प्रतिष्ठित फुटबल प्रतियोगिता - सुब्रतो मुखर्जी कपमा - नेपाली युवाहरुले पाईरहेको नियमित सफलता, १४ वर्ष मुनिकै एसियाली फेस्टिभल अफ फुटबल प्रतियोगिताहरुमा गर्ने गोलको वर्षा र केही अवसरमा एसियाली यु १६ च्याम्पियनसीपको अन्तिम छनोटसम्म पुग्ने गरेको इतिहास नेपालले विजयको दावी गर्ने आधारहरु हुन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली फुटबलले लामो समयदेखि भोग्दै आएको उपाधी खडेरीलाई युवा टोलीले भएपनि पुरा गरोस् भन्ने आशामा आयोजक समूह देखिन्छ।

सिनियर टोलीले दक्षिण एसियामा उपाधि जित्न नसकेको दशक बितिसक्दा युवा टोलीबाट यो आशा राखिनु अस्वाभाविक पनि नहुन सक्छ।

युवा टोलीको सफलता साफ फुटबल च्याम्पियनसीप खेल्ने तयारीमा रहेको सिनियर टोलीको लागि पनि हौसला हुन सक्छ।

सावधानी

तर माथी चिन्ता गरिए जस्तै युवा प्रतिस्पर्धाको पहिलो उदेश्य उपाधी नभई युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन हुनुपर्छ। प्रतियोगितामा समावेश दक्षिण एसियाली प्रतिद्धन्दीहरुले युवा प्रतिभाको विकासमा उतिकै ध्यान दिने नबताएका होइनन्। तर त्यसलाई मैदानमा हुने घम्साघम्सीको बेला पनि याद राखिनु पर्छ। अनि मात्र दक्षिण एसियाको युवा विकासको यो परियोजनाले बास्तविक सफलता पाउन सक्छ।