भूकम्प प्रभावित चीनको गान्सुमा उद्धार जारी

  • 23 जुलाई 2013
Image caption चीनको गान्सु प्रान्तमा भूकम्प गइरहने भएपनि त्यहाँका घरहरू कम्जोर रहेका बताइएको छ

चीनको गान्सु प्रान्तमा सोमबार कम्तिमा ९४ जनाको ज्यान लिएका दुई शक्तिशाली भूइँचालो गएपछि उद्धार कार्य जारी राखिएको छ।

समाचारहरूमा जनाइए अनुसार दुई हेलिकप्टर र तीन हजार सैनिक, प्रहरी तथा उद्धारकर्मीहरू खटाइएका छन्।

पाँच दश्मलव नौ आठ र पाँच दश्मलव छ रिक्टर स्केलका ती भूईंचालोहरूका कारण हजारौं भवनहरू ध्वस्त भएका वा क्षतिग्रस्त भएका छन्।

दिङ्सी नगरको स्थानीय सरकारले आफ्नो वेबसाइटमा जनाए अनुसार, त्यहाँ नौ हजार भन्दा बढी घरहरू ध्वस्त भएका छन्।

उद्धारकर्मीहरूले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन्।

राज्यद्वारा सन्चालित सिन्हुवा समाचार संस्थाका अनुसार ती घटनास्थलहरूमा पाइने माटोमा एक प्रकारको पहेंलो बालुवा मिसिने भएको हुनाले पहिरोमा पुरिएकाहरू जिवितै पाइने संभावना कम रहेको छ।

धक्काहरू

सोमबार स्थानीय समय अनुसार साँझ छ बजेसम्म ४२२ पटक भूकम्पका धक्काहरू महसूस गरिएका थिए।

एकाबिहानै गएको भुईंचालोमा ज्यान गुमाउनेहरुमा धेरैजसो केटाकेटी तथा बुढाबुढीहरु थिए।

केही क्षेत्रहरुमा विद्युत तथा मोबाइल फोन सम्पर्क पनि अवरुद्ध भएको छ।

अन्तर्राष्ट्रिय रेडक्रसका एकजना क्षेत्रीय प्रवक्ता बक्तियार माम्बेतोभले भने, “यस क्षेत्रका घरहरु निकै कमजोर छन्। धेरैजसो मानिसहरु माटो र काठले बनेका घरहरुमा बस्दछन्। ती घरहरु भुइंचालो प्रतिरोधक छैनन् र हजारौं घरहरु भत्केका वा क्षतिग्रस्त भएका छन्।“

अधिकारीहरुले सयौं उद्धारकर्ताहरुलाई प्रभावित क्षेत्रतर्फ पठाइएको तर पहिरोले गर्दा केही सडकहरु अवरुद्ध भएका जनाएका छन्।

रोयटर्स समाचार संस्थासंग कुरा गर्दै मिन्सियान काउन्टीमा रहेका एकजना चिकित्सकले भत्किएका घरमा परी कयौं मानिसहरु घाइते भएको बताएका छन्।

क्षति

दिङ्सीको स्थानीय सरकारले भूकम्पका कारण तीन करोड डलरभन्दा बढीको आर्थिक क्षति भएको प्रारंभिक अनुमान गरेको छ।

चिनियां राष्ट्रपति तथा प्रधानमन्त्रीले गान्सु प्रान्तका अधिकारीहरुलाई फोन गरी उद्धार कार्य राम्रो संग सन्चालन गर्न निर्देशन दिएका थिए।

क्षतिको लेखाजोखा गर्न स्थानीय निकायका अधिकारीहरु पनि त्यसतर्फ गएको चिनियां कम्युनिष्ट पार्टीको दिङ्सी इकाईको वेबसाईटले जनाएको छ।

त्यस क्षेत्रमा आउंदा केही दिनहरुसम्म बर्षात भै रहने अधिकारीहरुले जनाएका छन्।

गान्सु पटक पटक भूकम्प गैरहने क्षेत्र हो।

सन् २००८ मा जिचुआं प्रान्तमा गएको भुइंचालोमा परी झण्डै नब्बेहजार जनाको ज्यान गएको थियो भने लाखौं घरबारविहीन भएका थिए।