महिलाका शवहरु भेटिएपछि अमेरिकी शहरमा खोजतलास

  • 22 जुलाई 2013
खोजतलासमा अधिकारीहरु
Image caption क्लिभल्यान्डमा यसअघि पनि महिलाविरुद्ध पटक-पटक गम्भीर प्रकृतीका अपराधहरु भएका थिए

पूर्वी क्लिभल्यान्डको एउटा सुनसान देखिने वस्तीमा तीन महिलाका शव भेटिएपछि प्रहरीले खोजतलास र अनुसन्धानमा तीब्रता दिएको बताएको छ।

प्रहरी प्रमुखका अनुसार खोजी कार्यमा ४० जना जति प्रहरी खटिएका छन्।

अधिकारीहरुले गएको दश दिनको अन्तरालमा ती महिलाहरुको हत्या भएको हुनसक्ने बताएका छन्।

एक प्रहरी अधिकारीले खोजीकर्ताहरुले अरु शब भेट्टाउन सक्ने बताए।

नराम्रो गन्ध आएको खबर पाएपछि प्रहरीले खोजी गर्दा ती शव फेला परेका थिए।

'थप शव'

प्रहरी प्रमुख राल्फ स्पोट्सका अनुसार अर्को एक वा दुई शव भेटिने संभावना छ।

खोजी कार्यमा ४० जना प्रहरी अधिकारीहरु पूर्वी क्लिभल्यान्डको सुनसान जस्तो लाग्ने बस्तीमा खटिएका छन्।

प्रहरीले ३०-३५ वर्ष जति उमेरको, विगतमा प्रहरी स‍ूचिमा यौन अपराधमा संलग्न देखिएको एक जना संन्दिग्ध व्यक्तीलाई हिरासतमा लिएको छ।

अमेरिकी सञ्चार माध्यमले ती व्यक्तिको नाम माइकल म्याडीसन भनेका छन्।

ती संदिग्ध व्यक्तिले विगतमा ११ जना महिलाको हत्याको लागि जिम्मेवार क्लिभल्यान्डकै एक हत्याराबाट आफू प्रभावित भएको संकेत गरेका छन्।

पूर्वी क्लिभल्यान्डका मेयर ग्यारी नोर्टनको भनाईमा संन्दिग्ध हत्यारा एन्थोनी सोवेलबाट प्रभावित भएको हुन सक्छ।

नोर्टनले एसोसिएटेड प्रेस समाचार संस्थालाई भने, “उसको भनाई सुन्दा उसमा सोवेलको कुनै न कुनै प्रकारको प्रभाव परेको देखिन्छ।”

अपराधहरु

११ जना महिलाको शवका अवशेष उनको घर वरपर भेटिएपछि सोवेललाई सन् २०११ मा मृत्युदण्डको सजाय सुनाईएको थियो।

क्लिभल्यान्डमै दश वर्षअघि हराएका तीन महिलाहरुलाई एउटा घरमा बन्धक अवस्थामा फेला पारिएको तीन महिनापछि यो घटना भएको हो।

सो घर अहिलेको घटनास्थलबाट १० माइल टाढा छ।

सो घटनाको दोषी ५३ वर्षीय स्कुल बस चालक एरियल कास्ट्रो विरुद्ध १,००० भन्दा बढी अपहरण बलात्कार, हत्या र अन्य अभियोगहरु लगाइएको छ।