डचेस अफ क्याम्ब्रिज अस्पताल भर्ना

  • 22 जुलाई 2013
युवराज तथा युवराज्ञी
Image caption युवराज विलियम आफ्नी श्रीमतीसंग अस्पतालमै छन्

ब्रिटिश राजकुमार विलियमकी श्रीमती डचेस अफ क्याम्ब्रिज केटलाई सुत्केरी बेथाले च्यापेपछि लण्डनस्थित एउटा अस्पतालमा भर्ना गरिएको छ।

सोमबार बिहान आफ्ना श्रीमान विलियमका साथमा एउटा मोटरमा केटलाई केन्सिङटन दरबारबाट सेन्ट मेरीज अस्पताल लग‌िएको थियो।

उनको पछिल्लो अवस्था सामान्य रहेको बताइएको छ।

बेलायतको राजगद्दी उत्ताराधिकारसंबन्धी कानुनमा भर्खरै गरिएको संशोधन अनुसार विलियम र केटको पहिलो सन्तान छोरा वा छोरी जे भएपनि ब्रिटिश राजगद्दीको उत्तराधिकारी हुनेछन्।

पालो

युवराज चार्ल्स र राजकुमार विलियमपछि उनको पालो आउने छ।

अस्पताल वरिपरि प्रहरीले सुरक्षा दिइरहेका छन्।

हाम्रा संवाददाता भन्छन्, नयां शिशु भविष्यमा ब्रिटेन र कैयौं राष्ट्रमण्डल देशहरुको भावी राष्ट्राध्यक्ष पनि हुने भएकाले संसारभरि नै ब्रिटिश राजपरिवारको नयां सदस्यबारे चासो देखिएको छ।

संसार भरिका प्रमुख सन्चारमाध्यमका प्रतिनिधिहरु अस्पताल बाहिर डेरा जमाएर बसेका छन्।

अस्पतालमा राकुमार विलियम आफ्नी श्रीमतीसंगै रहेका छन्।

प्रतीक्षा

नयां शिशुको जन्म पछि अस्पतालको सिंढीमा राजकुमार विलियम र डचेस अफ क्याम्ब्रिज युवराज्ञी केट देखा पर्ने अवसरको अहिले धेरैले व्यग्रताकासाथ प्रतीक्षा गरिरहेका छन्।

गत डिसेम्बर महिनामा उनलाई वाकवाक लाग्ने समस्याका कारण अस्पताल भर्ना गरिएपछि उनी गर्भवती भएको समाचार सार्वजनिक भएको थियो।