ठगीमा संलग्न तीन ब्रिटिशलाई अमेरिकामा कैद

  • 24 जुलाई 2013
निजी विमान
Image caption थुप्रै लगानीकर्ताहरुलाई डुबाएका तीन ब्रिटिश नागरिकहरुले विलासी जीवन विताइरहेका थिए

ब्रिटेनको ठूलो मध्येको एक लगानी घोटालाका लागि दोषी ठहर्‍याउदै तीन जना ब्रिटिश नागरिकलाई अमेरिकामा कुल ४३ वर्षको जेल सजाय सुनाइएको छ।

रिचर्ड पोप(५५), साइमन ओडोनी(५६) र पाउल गन्टर(६४)ले फर्जी कम्पनीहरुबाट बोइलर रुम भनिने कार्यक्रम सञ्चालन गरेर सयौं कामदार परिचालन गर्दै ब्रिटिश लगानीकर्ताहरुलाई फकाउँदै काम नलाग्ने शेयर किन्न उक्साएका थिए।

सयौं व्यक्तिहरुलाई झुक्याएर ती तीन जनाले बाह्र करोड डलर ठगेका थिए।

धेरै पीडितहरुले आफ्नो घरबास गुमाएका थिए; एकजनाले त आत्महत्या नै गरे।

पोप, ओडोनी र गन्टर एक अन्तराष्ट्रिय आपराधिक समूहका सदस्य थिए।

सयौं पीडित

सो समूहले २३ सय ब्रिटिश नागरिकहरुलाई ठगेको थियो।

प्रायजसो लगानीकर्ताहरु अवकाश प्राप्त व्यक्तिहरु थिए।

सन् २००४ देखि उनीहरुले स्पेनका कल सेन्टर खोलेर शेयर लगानीकर्ता खोज्न थालेका थिए।

सन् २००६ देखि लण्डन प्रहरीले अनुसन्धान थाल्यो जसमा अमेरिकी अधिकारीहरुको सहयोग रह्यो।

आफ्नो दुई लाख पाउण्ड लगानी डुबे पछि आत्महत्या गरेका मार्क गोस्वामीकी श्रीमती एन्ड्रिया गोस्वामीले आफ्नो क्षति शब्दमा बयान गर्न नसकिने बताइन्।

“उनीहरु कसरी यस्तो घमण्डी बन्न सकेका होलान्, उनीहरुले मान्छेहरुको जीवन कसरी बर्बाद गर्न सकेका होलान्, उनीहरुले कसरी सोचे होलान यसरी परिवारहरुलाई ठगी गरेर पनि उन्मुक्ति पाइन्छ भनेर।

“उनीहरुलाई कुनै पनि सजाय पर्याप्त हुँदैन।”

अनुसन्धानमा संलग्न एक ब्रिटिश अधिकारीले ती तीनजना जस्तो घमण्डी, क्रुर र ध्वंसात्मक अपराधीहरु आफूहरुले कहिल्यै नदेखेको बताए।

अनुसन्धान

सो रकम अमेरिकी बैंकका खाताहरुमा राखेर ती तीनजनाले विलासी जीवन बिताइरहेका थिए।

उनीहरुले एउटा निजी विमान र अमेरिका फ्लोरिडा र अन्य स्थानमा घर घडेरी किनेका थिए।

सात वर्ष लामो अनुसन्धान पछि फ्लोरिडाको टेम्पास्थित विशेष प्रतिनिधि जन जोएसले आन्ध्र महासागर वारिपारिका कानून परिपालना गराउने अधिकारीहरुको साझेदारीले कसरी काम गर्छ भन्ने कुराको यो राम्रो उदाहरण भएको बताए।

उनले भने, “यो अनुसन्धानले अरु ठगहरुलाई स्पष्ट सन्देश दिएको छ।”

गन्टरलाई २५ वर्ष, साइमन ओडोनीलाई १३ वर्ष ४ महिनाको कैद सजाय सुनाइएको छ।

पोपलाई चाही अनुसन्धानमा सहयोग गरेको भन्दै ४ वर्ष ९ महिनाको सजाय सुनाइएको छ।