स्पेनमा रेल दुर्घटना: दर्जनौंको मृत्यु

  • 25 जुलाई 2013
दुर्घटनाग्रस्त रेल
Image caption रेलका तेह्रवटै डिब्बा ट्रयाकबाट बाहिरीएको बताइएको छ

स्पेनको उत्तरपश्चिमी क्षेत्रमा भएको रेल दुर्घटनामा कम्तीमा ७७ जनाको ज्यान गएको छ भने अन्य कैयौं घाइते भएका छन्।

रेलमा २०० जना भन्दा बढीले यात्रा गरिरहेको बताइएको छ र अझै पनि केहि रेलको भग्नावशेषमा फसेको हुनसक्ने ठानिएको छ।

स्थानीय सार्वजनिक विदाको एकदिन अघि दुर्घटनाग्रस्त भएको रेलमा धेरैजसो गर्मीको विदा मनाउन समुद्र तटतिर गैरहेका यात्रुहरु रहेका सम्बाददाताहरुले बताएका छन्।

दुर्घटना

राजधानी मड्रिडबाट फेरोल नगर तर्फ गैरहेको उक्त रेलको सबै १३ वटै डिब्बाहरु उत्तरी स्पेनको स्यान्टीयागो डे कोम्पोस्टेला नगर नजीकै पुग्दा ट्रयाकबाट बाहिरिएका थिए।

घटनास्थलबाट प्राप्त तस्वीरहरुमा, डिब्बाहरुको भग्नावशेषका छेउ राखिएका शवहरु र आपतकालीन उद्धार कार्यकर्ताहरुले जीवित बचेका हुनसक्नेहरुको खोजी गरिरहेका देख्‍न सकिन्छ। प्रत्यक्षदर्शीहरुले आफूले ठूलो विस्फोटको आवाज सुनेको बताएका छन्।

दुर्घटना देखेका एकजनाले भने, “सबै एकदमै छिटो भयो। के भयो होला भन्न त सकिन्न तर घुम्तीनिर रेल ट्रयाकबाट बाहिर उछिट्टियो र धेरै बल्ड्यांग खायो।“

भाग्यमानी

अर्को एकजनाले दुर्घटनामा सकुशल रहन पाउनु भाग्यको खेल भएको बताए, “रेल तीब्र गतिमा थियो र घुमाउरो स्थानमा ट्रयाकबाट बाहिरियो। बांच्न सफल भएकोमा म आफूलाई भाग्यमानी ठान्छु।“

दुर्घटना लगतै उद्धारकर्मीहरुले रेलभित्र फसेका जीवितहरुलाई बाहिर निकालेका थिए।

मारिनेहरुको संख्यामा बृद्धि भैरहंदा, ग्यालिसिया राज्यको स्थानीय सरकारले मानिसहरुलाई अस्पतालहरुमा गई रक्तदान गर्न आह्वान गरेको थियो।

विश्लेषकहरुका अनुसार स्पेनमा गत चार दशकभित्र भएको यो सबैभन्दा खराब रेल दुर्घटना हो।

क्षेत्रिय सरकारका नेता अलबेर्टो नुनेज फेइजुले एउटा स्थानीय रेडियोसंगको कुराकानीमा मृतक संख्याको पुष्टि गर्दै, दुर्घटनाको कारणका बारे अझै थाहा नभैसकेको बताएका छन्।