रेल दुर्घटनापछि स्पेनमा शोक

  • 26 जुलाई 2013
स्पेनी प्रधानमन्त्री र अन्य अधिकारीहरु
Image caption सान्टियागो घर भएका प्रधानमन्त्रीले दुर्घटनाबाट आफू र सान्टियागोवासी अत्यन्त दु:खी भएको बताए

स्पेनका राजा हुवाँ कार्लोसले घटनापछि दु:खी स्पेनी जनताहरुले दुर्घटनामा मृत्यु भएका व्यक्ति, तिनका परिवार र मित्रहरुप्रति सहानुभूति प्रकट गरिरहेको बताए।

रेलका चालकहरु मध्येका एकमाथि अनुसन्धान शुरु गरिएको छ।

बिदा मनाउन हिडेका यात्रुहरुले भरिएको सो रेल सान्टियागो डे कम्पोस्टेला नगर नजिकै दुर्घटना ग्रस्त भएको थियो।

अत्यन्त तीब्र गतिका हुँइकिरहेको सो रेल एउटा मोडमा पुगेपछि लिकबाट बाहिर गएको र दुर्घटनाग्रस्त भएको सुरक्षा क्यामेरामा कैद गरिएको भिडिओमा देखाइएको छ।

रेल दुर्घटना भएको शहर घर भएका स्पेनी प्रधानमन्त्री मारियानो राहोइले राष्ट्रिय शोक मनाउन तीन दिनको छुट्टीको घोषणा गरेका छन्।

उद्धार

घटनापछि १०० भन्दा बढी यात्रुको उद्वार गरी अस्पताल पुर्‍याइएको थियो।

दुर्घटनामा बाच्न सफल एक १५ वर्षिया किशोरी एलेना रेगुएरोले दुर्घटना हुँदा आफू फोनबाट संगीत सुनिरहेको बताइन्।

“म बसिरहेको थिएँ, अचानक लगेज, सिट र शरीरहरुले पुरिन पुगें।”

“सहयोगको लागि कराँए, केही बेरपछि अग्नि नियन्त्रकहरु आए र सहयोग गरे।”

दुर्घटनापछि सो रेलका चालकबीच भएका कुराकानी रेकर्ड हुने ब्ल्याक बक्स फेला परेको बताइएको छ।

घटनापछि गहिरो शोक व्यक्त गर्दै राजा हुवाँ कार्लोस दुर्घटनाका घाइतेहरुलाई भेट्न सान्टियागो डे कम्पोस्टेलस्थित एक अस्पतालमा पुगेका थिए।

“हामी स्पेनीहरु एक भएका छौं, हामी सबै पीडित र तिनका परिवार र मित्रहरुको साथमा छौं/”

उनले उद्धार तथा राहत कार्यमा खटिएका व्यक्तिहरु र रक्तदान गर्ने व्यक्तिहरुको प्रशंसा गरे।

अस्पतामा उपचार गराइरहेका कयौं बिरामीको अवस्था गम्भीर रहेको बताइएको छ।

‘दु:खद’

दुर्घटनापछि प्रधानमन्त्री राहोयलेले भने, “म जस्तो सान्टियागोवासीको लागि यो सबैभन्दा दु:खद दिन हो।“

स्पेनी सञ्चार माध्यमले जनाएअनुसार फ्रान्सिस्को जोसे गार्जोन अमो नाम गरेका चालकलाई अस्पतालमा प्रहरीले सोधपुछ गरिरहेको एक वक्तव्यमा जनाइएको छ।

निकै अनुभवी बताइएका ती चालकलाई थोरै चोट लागेको छ।

स्पेनी रेल सञ्चालक रेन्फेले रेल लिकबाट बाहिरिनुको कारण थाहा नभइसकेको बताएको छ।