चुनावी तयारी तीव्र पार्ने समितिको निर्णय

  • 29 जुलाई 2013
चार दलका नेताहरु
Image caption चार पक्षका नेताहरुले चुनावी तयारी तीव्र बनाउने बताएका छन्

उच्चस्तरीय राजनीतिक समितिले असन्तुष्ट समूहलाई वार्तामा ल्याउन फेरि एकपटक प्रयत्न गर्ने तर सँगसँगै चुनावी तयारी पनि तीव्र बनाउने निर्णय गरेको छ।

असन्तुष्ट समूहले चुनाव स्थगन र निशर्त वार्ताको माग गरिरहेका बखत उक्त निर्णय आएको छ।

समितिले दुई दुईपटक पत्र लेख्दा पनि वार्तामा आउने तत्परता नदेखाएको भन्दै असन्तुष्ट समूहको आलोचना गरेको छ।

समितिको बैठकमा सहभागी एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, "दुई दुईपटक वार्ताका लागि आह्वान गर्दा पनि नआउँदा आश्चर्य र दुख लागेको छ। फेरि एकपटक आग्रह गर्ने तर सँगसँगै चुनावी तयारी पनि अगाडि बढाउने निर्णय भएको छ।"

निशर्त

पहिलो पत्रमा निर्वाचन उल्लेख गरिएकाले अस्वीकार गरेको नेकपा माओवादीले दोश्रो पत्र पनि उस्तै रहेको जनाएको छ।

नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भने,"दोश्रोपत्र पनि शर्त सहित छ। हामीले सबैकुरा वार्ताको टेबलमा गर्ने भनेका हौं, तर अर्को पक्ष वार्ताप्रति इमान्दार देखिएन।"

दोश्रो पत्र प्राप्त भईसकेपछि आफ्ना अध्यक्ष मोहन बैद्यले समितिका संयोजक प्रचण्डलाई टेलिफोन मार्फत निशर्त वार्ताको आग्रह फेरि गरेको गजुरेलले बताए।

रणनीति

पहिलो पत्र नेकपा माओवादीका नाममा आएको तर दोश्रो पत्र भने ३३ दलका नाममा पठाइएकाले थोरै सकारात्मक भन्ने प्रारम्भिक प्रतिक्रिया नेकपा माओवादीका अध्यक्ष बैद्यले दिएका थिए।

दुबै पक्षले वार्ताको ढोका खुला रहेको भन्न छुटाएका छैनन्।

तर दुवै समूह चुनाव गर्ने र त्यसलाई विथोल्ने दुई फरक रणनीति कार्यान्वयन तर्फ लागेका छन्।

त्यसैले आगामी दिनमा दुईपक्षबीच टकराव थप बढ्न सक्ने कतिपयको आशंका छ।