पूर्णिमाको चन्द्रमाले मानिसको निद्रामा अवरोध

  • 29 जुलाई 2013
पूर्णिमाको चन्द्रमा
Image caption पूर्णिमाको चन्द्रमासंग सम्बन्धित विभिन्न किंवदन्तीहरु संसारका अनेकौं समुदायमा प्रचलित छन्

अनुसन्धानकर्ताहरुले हालै गरेका एक अध्ययनबाट मानिसको निद्रामा पूर्णिमाको रातमा उदाउने चन्द्रमाले असर पुर्याउने गरेको पत्ता लगाएका छन्।

पूर्णिमाको रातमा, ३३ जना स्वयंसेवीहरुको सुताइको प्रकृया र निद्राका विभिन्न चरणलाई बैज्ञानिकहरुले विश्लेषण गरेका थिए।

पूर्णिमाको रात, चन्द्रमा पूर्ण आकारमा देखिंदै उज्यालो फैलाइरहेको बेलामा, कुनै बत्ति नभएको अंध्यारो प्रयोगशालाका कोठामा ति मानिसहरुलाई सुताएर अध्ययन गरिंदा, तिनीहरुलाई अरु बेला भन्दा निदाउन बढी समय लागेको, र निद्रा पनि अधकल्चो मात्र लागेको थियो। थोरै निद्रा

उक्त अध्ययनको नतिजा अनुसार औसतमा तिनीहरुलाई तीस प्रतिशत कम मात्र गहिरो निद्रा परेको र समग्रमा संधै भन्दा २५ मिनेट थोरै निद्रा लागेको देखिएको छ।

ति मानिसहरुमा, मेलाटोनिन नामको एउटा प्रकारको हार्मोनको स्तरमा पनि कमी आएको देखिएको थियो।

उक्त हार्मोनको सम्बन्ध प्राकृतिकरुपमा मानिसमा हुने आन्तरिक घडीको चक्रसंग हुने गर्छ।

अंध्यारोमा शरिरले मेलाटोनिन धेरै उत्पादन गर्छ भने, उज्यालोमा उक्त हार्मोन कम मात्र उत्पादन हुने गर्छ।

रातीको समयमा चम्किलो उज्यालोमा र दिनको समयमा कम उज्यालोमा रहंदा, शारिरले प्राकृतिक रुपमा मेलाटोनिन उत्पादन गर्ने चक्र प्रभावित हुन पुग्दछ।

तर करेन्ट बायोलोजी नामको जर्नलमा प्रकाशित अध्ययनका अनुसन्धानकर्ताहरु भन्छन्, पूर्णिमाको उज्यालो रातमा, बत्ती नभएको र प्रकाश नछिर्ने अंध्यारो कोठामा सुतेका मानिसहरुमा देखिएको चन्द्रमाको प्रभावको सम्बन्ध बाहिरको उज्यालोसंग थिएन।

Image caption ३३ जना स्वयंसेवीहरुलाई बाहिरको प्रकाश नछिर्ने प्रयोगशालामा राखेर अध्ययन गरिएको थियो

अध्ययनमा संलग्न स्वयंसेवीहरुलाई, अध्ययनको विषय र उद्देश्यका बारेमा केहि थाहा दिइएको थिएन।

र प्रयोगशालाको अंध्यारो कोठाबाट तिनीहरुले बाहिरको चन्द्रमाको प्रकाश पनि देख्‍न सक्दैन थिए। प्रत्येक स्वयंसेवीले प्रयोगशालामा छुट्टा छुट्टै दुई रात विताएका थिए।s

सम्बन्ध

पूर्णिमाको रात चन्द्रमा पूर्ण आकारमा उदाउंदा, ति मानिसहरुमा गहिरो निद्रासंग सम्बन्ध राख्‍ने मतिष्कको गतिविधि एक तिहाइले घटेको थियो। र मेलाटोनिनको स्तरमा पनि कमी आएको थियो।

स्वयंसेवीहरुलाई निद्रा लाग्न पांच मिनेट बढी समय लागेको थियो र चन्द्रमा पूर्ण आकारमा रहेका बेला तिनीहरुको निद्रा विस मिनेटले कम देखिएको थियो।

यो अध्ययनको अगुवाई गरेका स्विट्जरल्याण्डको बाजल विश्व विद्यालयका बैज्ञानिक डा. क्रिस्टियन काइयोक्यान भन्छन्, चन्द्रमालाई प्रत्यक्ष नदेखे पनि अथवा चन्द्रको चक्रका बारेमा ध्यान नदिएको भएपनि मानिसको निद्रामा चन्द्रमाको चक्रको असर पर्ने देखिएको छ।

कोही मानिसमा त चन्द्रमाको विशेष प्रभाव हुने अनुसन्धान कर्ताहरु बताउंछन्।

करेन्ट बायोलोजी नामको जर्नलमा लेख्दै, ति अनुसन्धानकर्ताहरुले भनेका छन् यस्तो नतिजा, मानिसभित्र हुने आन्तरिक चन्द्र घडीको प्रभावका कारण देखिएको हुन सक्छ। घडी त्यस्तो आन्तरिक चन्द्र घडीका कारण हाम्रा पुर्खाहरुलाई पूर्णिमाको रातको समयमा बढी सतर्क रहन मद्दत पुगेको हुनुपर्छ।

बाजल विश्व विद्यालयका बैज्ञानिक डा. क्रिस्टियन काइयोक्यानले, आफूहरुले हासिल गरेको नतिजा अप्रत्याशित भएको बताएका छन्।

उनी भन्छन्, “हामी त वास्तवमा मानिसको निद्रामा चन्द्रमाको कुनै प्रभाव हुंदैन भन्ने प्रमाणीत गर्न चाहन्थ्यौं। तर नतिजा त उल्टो पो देखियो, जुन कुरा त मैले पहिला पत्याउन पनि सकेको थिइनं।“

ब्रिटेनमा निद्रा विषयका ज्ञाता मानिने डा. नील स्टानली भन्छन्, स्वीट्जरल्याण्डको विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेका अध्ययन सानो भएपनि यस्को नतिजा उल्लेखनीय छ।

उनी भन्छन्, “ विभिन्न संस्कृति भएका समुदायका लोक कथा र आख्यानहरुमा पूर्णेको चन्द्रमासंग जोडिएका प्रसंगहरु बग्रेल्ती पाइन्छ, र पूर्ण चन्द्रको प्रभावको कुरा कतिपयलाई अनौठो नलाग्न पनि सक्छ।

“अब यो अध्ययनको नतिजा आएपछि, पूर्णेको रातमा मानिसहरुको निद्रामा पर्ने प्रभावका बारे विज्ञानले थप अनुसन्धान गर्नु पर्नेछ।“